केपी ओलीलाई माधव नेपालको शुभकामना

388
  •  
  •  
  •  

काठमाडौं ३२ असार (ओएनएस) : नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपालले शुभकामना दिएका छन् । ओली निर्वाचित भएलगत्तै नेपालले मंगलबार साँझ विज्ञप्तीमार्फत शुभकामना दिएका हुन् ।

नेपालले नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा आफ्नो र आफ्नो समूहको पक्षमा मतदान गर्ने सवै प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।

‘महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. केपी शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु,’ नेपालले भनेका छन्, ‘साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।’

नेपालले जनताको बहुदलिय जनवादको भावना अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सके पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु-स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।’

नेपालले मंगलबार साँझ नै ओलीलाई टेलिफोन गरेर बधाई दिएका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •