सम्झना गैरे
काठमाडौं २२ असार (ओएनएस) : छोरीलाई अन्माउदा कुनचाहिँ आमाको मन नरोला । यतिबेला अभिनेत्री मिथिला शर्माको माइती परिवारमा पनि यस्तै भएको छ । आमा, भाई, बुहारी र बैनी मिथिलाको बिदाईसँगै भावुक बनेका छन् ।
५० वर्षकी छोरीलाई बिदाइ गर्न पाएकोमा ८५ वर्षीया आमा (देवकी) हर्षमा छिन् तर, छोरिसँगको विछोडले पनि पिरोलेको छ । परिवारसँग हरेक कुरा साटासाट गर्ने मिथिलाले मनपरेको व्यक्तीसँग विवाह गर्न पाएकोमा परिवारलाई खुुसी लाग्नु स्वभाविक हो । जीवनको पाँच दशक माइतीमा बिताएकी शर्मालाई पूर्वआइजिपी मोतीलाल बोहोराको घर सम्हाल्ने मौका मिल्यो । उनले सहर्ष स्वीकारिन् ।
ढिलै भए पनि छोरीको घरजम हुुन लागेको खवरले आमालाई खुसी मिल्नेनै भयो । औपचारिक रुपमा शनिबार मिथिलालाई बिदाइ गरेपछि उनकी आमा झनै शिथिल बनेकी छन् । ‘पहिला दिदिले बिवाह नगरेकोमा दुःख मनाउ गर्नुहुन्थ्यो । हिजो बिदाई गरेपछि उँहाको आशु थामिएको छैन ।’ भाई विजु शर्माले ओएनएसँग भने, ‘आमा बोल्न सक्ने अवस्थामै हुनुहुन्न । एकोहोरो टोलाइरहनु भएको छ ।’
परिवारका अरु सदस्यसँग भन्दा बढी निकटता थियो आमा—छोरीको । आमालाई त अब छोरीले बिवाह गर्दिन होला भन्ने लागेको थियो । तर परिस्थितिले ‘मोड’ बदलिएपछि ८५ वर्षीया आमाले आफूलाई ‘टुहुरो’ महसुस गरिरहेकी छन् । ‘आमालाई सम्हाल्ने हामि छौं’ विजु भन्छन्, ‘छोराको जिम्मेवारी निर्वाह गर्न म तयार छु । तर आमालाई दिदिले गर्ने माया सायद कसैले गर्न सक्दैन होला ।’
छोरीलाई बिदाइ गरेको क्षण सम्झिदै आमा लुकिलुकी घुक्क—घुक्क गरेको परिवारले देखेको छ । ‘छोरीसँग फोनमा भए पनि गफ गर्न पाए मन शितल हुने थियो ।’ भन्ने आमालाई विजुले गफ गराउन सकेका छैनन् । ‘भर्खर नयाँ घरमा जानुभएको छ । उँहालाई उतै रमाउने मौका दिनुपर्छ भन्ने लागेर आमाको तनाव दिन नचाहेको ।’ उनले ओएनएससँग भने, ‘जे भयो राम्रो भयो । बिस्तारै आमाको पनि बानी पर्छ ।’