‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ मल्ल, कडायत र डा.बस्न्यातलाई प्रदान गरिने

5199
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ कालिकोटका हिक्मत बहादुर मल्ल, बझाङकी गंगुदेवी खडायत र काठमाडौं स्थायी घर भइ हाल जुम्लामा कार्यरत डा.सुवी बस्न्यातलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनौट समितिकी संयोजक सम्झना पौडेलको संयोजकत्वमा आइतबार एक्सन वर्क्स नेपाल को मुख्य कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कालिकोटका मल्ल वि.स २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।उनले कोरोना कालमा १ हजारदेखि १२ सय जना कोरोना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै उनले जातिय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यस्तै बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हक हितको लागि, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आएकी छन् ।

यस्तै डा.बस्न्यात कर्णालीमा बसेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छन् ।

उक्त पुरस्कार अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा असोज ४ गते प्रदान गरिने संयोजक पौडेलले जानकारी दिइन् ।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो ।

उक्त पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरिएको हो । सोही रकमबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको छ ।

संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पु¥याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष उक्त पुरस्कार कालिकोटका काली बहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई प्रदान गरेको थियो ।

यस्तै उक्त पुरस्कार अछामकी मथुरा कुँवर, जुम्लाका सरोज शाही, जुम्लाका चैते गिरी, पर्साका अकवाल अन्सारी, ताप्लेजुङकी पदमावती लिम्बु, सिन्धुपाल्चोकका सीताराम श्रेष्ठ, जुम्लाका देवीकन्या आचार्य, मुगुका चित्रबहादुर मल्ल, बैतडीका कालु चन्द र बाराका सुगन्धी पासवासनले पाइसकेका छन् । पुरस्कारको छनोट मितेरी गंगादेवी शान्ति पुरस्कारको सचिवालयले गर्दै आएको छ ।


  •  
  •  
  •