‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ डा.बस्न्यात, मल्ल, र कडायतलाई प्रदान

337
  •  
  •  
  •  

     

काठमाडौं । यस वर्षको मितेरी गंगादेवी शान्ति पुरस्कार तीन जनालाई प्रदान गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्त्रीरोग विशेषज्ञ डा. सुवी बस्न्यात, कालिकोटका हिक्मत बहादुर मल्ल र बझाङकी गंगुदेवी खडायतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सेप्टेम्बर २१ अर्थात् विश्व शान्ति दिवसको अवसरमा एक औपचारिक कार्यक्रममार्फत उनीहरुलाई प्रमाण पत्र, दोसल्लासहित जनही नगद ६ हजार ६९३ रुपियाँ पुरस्कार प्रदान गरिएको हो ।
कालिकोटका मल्ल वि.स २०७५ सालदेखि जिल्लामा भइरहने सामाजिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

उनले कोरोना कालमा १ हजारदेखि १२ सय जना कोरोना पीडितका लागि ‘आपसमा युवा अभियान’ सञ्चालन गरेका थिए । यस्तै उनले जातिय छुवाछुत निर्मूल पार्नका लागि सडक नाटकदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यस्तै बझाङकी खडायतले जिल्लामा पहिलो पटक हलो जोतेकी थिइन् । उनी महिलाको हकहितको लागि आवाज उठाउने, समाजमा शान्ति स्थापना, महिला हिंसाविरुद्धको अभियानमा लाग्दै आएकी छन् । डा.बस्न्यात कर्णाली जस्तो पिछडिएको क्षेत्रमा लामा समयदेखि स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएकी छन् ।

एक्सन वर्क्स नेपालका संस्थापक अध्यक्ष राधा पौडेलको पुस्तक ‘खलंगामा हमला’ ले २०७० सालमा मदन पुरस्कार पाएको थियो । पुरस्कार राशीमा एक्सन वक्र्स नेपालले एक लाख रुपैयाँ थपेर पौडेलको आमा गंगामाया र बुबा देवी पौडेलको सम्झनामा पुरस्कार कोष स्थापना गरिएको हो । सोही रकमको आउने ब्याजबाट पुरस्कार प्रदान गरिँदै आइएको एक्सन वक्र्स नेपालका अध्यक्ष सम्झना पौडेलले बताइन् ।

संस्थाले प्रत्येक वर्ष स्थानीय स्तरमा शान्ति स्थापनाका लागि योगदान पु¥याउने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

गतवर्ष उक्त कालिकोटका काली बहादुर शाही, जुम्लाकी गाँडे नेपाली र जुम्लाकै मिनराज शर्मालाई मितेरी गंगादेवि शान्ति पुरस्कार प्रदान गरेको थियो ।

यसअघि अछामकी मथुरा कुँवर, जुम्लाका सरोज शाही, जुम्लाका चैते गिरी, पर्साका अकवाल अन्सारी, ताप्लेजुङकी  पदमावती लिम्बु, सिन्धुपाल्चोकका सीताराम श्रेष्ठ, जुम्लाकी देवीकन्या आचार्य, मुगुका चित्रबहादुर मल्ल, बैतडीका कालु चन्द र बाराका सुगन्धी पासवासनले शान्ति पुरस्कार प्राप्त गरेका थिए । मितेरी गंगादेवी शान्ति पुरस्कारको सचिवालयले पुरस्कार छनोट गर्दै आएको छ ।

मितेरी शान्ति वाटिका स्थापना तथा व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सुना देवकोटा, लोक दर्शन श्रेष्ठ, भानु देवकोटा, कालिका न्यौपाने, सृजना शाही, केशवप्रसाद धिताल, ईन्जिनियर द्धोय नविन महत र नविन शाहीलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा मितेरी शान्ति वाटिकाको समेत उद्घाटन गरिएको छ ।  जुम्लामा र्यालीसहित औपचारिक कार्यक्रम गरी विश्व शान्ति दिवस मनाएको छ ।


  •  
  •  
  •