बाढीपहिरोमा बेपत्ता भएका ४९ जनालाई मृत घोषणा

52
  •  
  •  
  •  

सुर्खेत, ११ भदौ : साउनको अन्तिम सुर्खेतमा आएको भीषण बाढी पहिरोबाट बेपत्ता भएकामध्ये ४९ जनालाई मृत घोषणा गरिएको छ । बाढी पहिरोबाट बेपत्ता भएका दुई सातासम्म पनि सम्पर्कमा नआएको र बेपत्ताका आफन्तले धमाधम काजकिरिया गर्ने क्रम अघि बढाएपछि उनीहरूलाई मृत घोषणा गरिएको सुर्खेतका विभिन्न गाविसस्तरीय विपद् व्यवस्थापन समितिहरूले बताएका छन् ।

बाढी पहिरोबाट जिल्लाका ३४ जनाको मृत्यु भएको छ भने ९४ जना हालसम्म पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृतक सम्पूर्णको यसअघि नै सनाखत भइसकेको छ । बेपत्ताका आफन्तले बेपत्ता भएका आफन्त बाँचेर फर्कन सक्ने सम्भावना नदेखेपछि धमाधम काजकिरियाको प्रक्रिया अघि बढाएको तातापानी गल्फाका अम्मरसिं टमटाले बताए । ‘तातापानी गाविसमा मात्र २९ जना बेपत्ता भएका थिए ।

उनीहरू सबैका आफन्तले काजकिरिया गरेपछि हामीले मृत घोषणा गरी बेपत्तालाई मृतकसरह मान्दै राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गर्ने निर्णय गरेका छौँ–विपद् व्यवस्थापन समिति तातोपानीका संयोजक तथा गाविस सचिव ओम चपाईंले भने । त्यस्तै, बाबियाचौर तिखाकुनामा आएको बाढीका कारण बेपत्ता भएका छ जनालाई मृत घोषणा गरिएको गाविस सचिव तथा गाविसस्तरीय विपद् व्यवस्थापन समिति बाबियाचौरका संयोजक भद्रबहादुर थापाले बताए । यता हरिहरपुर गाविसको भेरी नदीमा आएको बाढीका कारण बेपत्ता भएका २४ जनालाई पनि मृत घोषणा गरिएको गाविस सचिव केशरबहादुर डाँगीले बताए । स्थानीय विपद् व्यवस्थापन समितिले बेपत्ताका आफन्त र परिवारको सहमतिमा बेपत्ता भएकालाई मृतकसरह मानेर राहतको लागि सिफारिस गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए ।


  •  
  •  
  •