काठमाडौं, ३० जेठ । सिंगापुरमा भएको ‘टिन एसिया प्यासिफिक’मा नेपालका तर्पmबाट सहभागिता जनाएकी सोनिना गुरुङले विधागत अवार्ड ‘मिस टिन गुडवील एसिया प्यासिफिक अवार्ड’ जितेकी छन् । राजधानीमा रहेको इप्लानेट नामक संस्थाले गत फागुन ३ गते राजधानीमा आयोजना गरेको ‘मिस टिन नेपाल’ प्रतियोगितामा उपविजेता बनेकी १७ वर्षीया गुरुङले सिंगापुरको होटल अर्किड क्लबमा भएको फाइनल प्रतियोगितामा उक्त अवार्ड जितेकी हुन् । राजधानीको कलंकी निवासी सोनिना फेसन डिजाइनर दिदी बिञ्जना गुरुङका साथ सिंगापुर गएकी थिइन् । सोनिनाका लागि दिदीले नै पहिरन डिजाइन गरेकी हुन् ।
सिंगापुरमा हरेक वर्ष आयोजना हुँदै आएको बालबालिकाको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा एसियाली राष्ट्रका ४३ बालबालिका तथा किशोरीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो । संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार सोनिनाले प्रतियोगितामा नेपालको संस्कृति झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिइन् । नेपालमा रहँदा सोनिनालाई सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मीलगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।
इप्लानेटले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजनाको तयारी गरिरहेको छ । केही समय अघि टर्कीमा आयोजित ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागिता जनाएकी दृष्टि दाहालले शीर्ष उपाधि चुमेकी थिइन् ।