एक शतक पनि प्रहार नगरी मिसबाहले क्रिकेटबाट लिए सन्यास

494
  •  
  •  
  •  

काठमाडौ, ७ चैत(एजेन्सी) : विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा शुक्रबार अष्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि पाकिस्तानका कप्तान मिसबाह उल हक र शाहिद अफ्रिदीले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

मिसबाह र अफ्रिदीले पाकिस्तानलाई विश्वविजेता बनाउने अधुरो सपनाका साथ एकदिवसीय क्रिकेटबाट सन्यास लिएका हुन् । दुवैले विश्वकप क्रिकेट सुरू हुनुअगावै एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका थिए ।

मिसबाह टेष्ट क्रिकेट खेलिरहने छन् भने अफ्रिदी टि-२० खेलिरहनेछन् । ४० वर्षका मिसबाह उल हकले आफ्नो जीवनमा १ सय ६२ वटा एकदिवसीय क्रिकेट खेल खेलेका छन् र ५ हजार १ सय २२ रन जोडेका छन् तर, अचम्मको कुरा के छ भने उनले एउटा पनि शतक प्रहार गर्न सकेनन् । यसका साथै पाकिस्तानका लागि कप्तानका रूपमा उनले ३ हजार ३ रन जोडेका छन् ।

यस्तै, सन् १९९६ मा श्रीलंकाविरूद्ध आफ्नो पहिलो एकदिवसीय क्रिकेटबाट डेब्यु गरेका अफ्रिदीले ३७ बलमा शतक प्रहार गर्दै बुम-बुम अफ्रिदीको नामले चिनिन थालेका थिए । उनले ३ सय ९८ एकदिवसीय क्रिकेटमा ८ हजार ६४ रन जोडेका छन् भने ३ सय ९५ विकेट लिएका छन् । उनी विश्वकप क्रिकेट २०११ का पाकिस्तानी कप्तान समेत थिए । उक्त विश्वकपमा भारतले मोहालीमा भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई पराजित गरेको थियो ।


  •  
  •  
  •