गाडी चोर्दै गर्दा पूर्वमन्त्रीका छोरा पक्राउ, भीडले कुट्दा ज्यान गयो

286
  •  
  •  
  •  

काठमाडौं ३० असार (एजेन्सी) : भारतको बिहारमा एक पूर्वमन्त्रीका छोरा मारिएका छन् । गाडी चोरी गरिरहेको अवस्थामा पक्राउ परेका उनलाई भीडले कुटि–कुटि हत्या गरेको बताइएको छ । समाचार एजेन्सीहरुका अनुसार बिहार राज्य सरकारका पूर्व पशुपालन मन्त्री रामाश्रय सहनीका छोरा राजीव सहनीले एउटा पिकअप भ्यान चोरीको प्रयास गरेका थिए । चोरी गरिरहेको अवस्थामा स्थानीयले उनलाई पक्राउ गरेका थिए भने त्यस लगत्तै जम्मा भएको भीडले कुटेर उनको हत्या गरेको हो ।
उक्त घटना समस्तीपुर जिल्लाको दलसिंहसराय थाना क्षेत्र अन्तर्गत असीनचक गाउँमा भएको बताइन्छ । आइतबार बिहानै सो घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार चालक कपिल पासवानको घर अगाडी रोकिराखेको भ्यान राजीवले चोरीको प्रयास गरेका थिए ।

राति करिब दुई बजे आएका दुईजनाले उक्त गाडीको ढोका खोलेर लैजान लागेको अवस्थामा स्थानीयले उनीहरुलाई फेला पारेका थिए । गाउँलेको कुटाइबाट पूर्वमन्त्रीका छोरा राजीवको मृत्यु भयो भने उनीसँगै आएका व्यक्ति भने गम्भीर घाइते भएका छन् ।
राजीव यसअघि पनि चोरीका घटनामा पटक–पटक पक्राउ परेको बताइएको छ । तर प्रमाणको अभावमा उनी पक्राउ लगत्तै रिहा हुँदै आएका थिए ।


  •  
  •  
  •