मन्त्रीहरू धमाधम विदेश शयरमा

126
  •  
  •  
  •  

chitralekha yadabकाठमाडौं २३ जेठ ।
विपद व्यवस्थापनमा मुलुक जुझिरहेका बेला मन्त्रीहरु एकपछि अर्को विदेश सयरमा निस्किन लागेका छन् । मन्त्रिपरिषद निर्णयका कारण केही दिन चुपचाप रहेका मन्त्रीहरु धमाधम विदेश भ्रमण निस्किने योजनामा छन् ।

शिक्षामन्त्री चित्रलेखा यादवको जारी विदेश भ्रमण चर्चामा रहेकै बेला चार मन्त्रीको विदेश भ्रमणको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । स्वास्थ्य मन्त्री खगराज अधिकारी, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा, कृषि मन्त्री हरि पराजुली र अर्थमन्त्री रामशरण महत विदेश भ्रमणमा निस्किन लागेका हुन् ।

स्वास्थ्य मन्त्री गाबि एलाइन्स नार्को अन्तर्राष्ट्रिय संस्थाको बोर्ड बैठकमा जेठ २६ गते स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने योजनामा छन् । विपदपछि उनको दोश्रो स्वीट्जरल्याण्ड भ्रमण हुने छ । वाणिज्य तथा आपूर्ती मन्त्री थापा व्यापार मेला हेर्न जेठ २९ देखि असार १ गते चीन भ्रमणमा जाने तयारीमा छन । भ्रमण स्वीकृत भए कृषिमन्त्री पराजुली खाद्य कृषि संगठनको बैठकका लागि जेठ २९ देखि १० दिनका लागि इटालीमा हुने छन् । यस्तै अर्थमन्त्री रामशरण महत दाता सम्मेलनको निम्ता दिन महिनाको अन्त्यमा भारत भ्रमणमा निस्किदै छन् ।

वैशाख १२ गते भूकम्प गएपछिको मन्त्रिपरिषद बैठकले अति आवश्यकबाहेकका विदेश भ्रमणको स्वीकृत नगर्ने निर्णय गरेको थियो । त्यसयता विदेश भ्रमण निकै घटे पनि क्रमशः उच्च पदस्थको सयर मोह प्रकट हुन थालेको छ ।

‘वाणिज्य मन्त्री र स्वास्थ्य मन्त्रीको विदेश भ्रमण अनावश्यक देखिन्छ,’ अर्थसम्बद्ध स्रोतले भन्यो । श्रोतका अनुसार खाद्य तथा कृषि संगठनको बैठकमा कृषिमन्त्रीको भ्रमण औचित्यपूर्ण देखिएपनि १० दिन सयर मोह नै हो । दाता सम्मेलनको निम्तामा जान लागेका अर्थमन्त्रीको भ्रमणका क्रममा पुनःनिर्माणका लागि भारतले गर्ने सम्भावित सहयोगका बारे ठोस कुराकानी हुन सक्ने भएकाले अहिले नै अनावश्यक भन्न नमिल्ने अर्थका अधिकारीको जिकिर छ । सम्मेलनको निम्ता गर्न परराष्ट्र मन्त्री महेन्द्र पाण्डे चीन जाने कार्यक्रम छ । यस्ता दातालाई निम्तोका साथै पूर्व छलफल गर्न खाडी मुलुकमा पनि मन्त्रीलाई नै पठाउने तयारी भइरहेको छ । ‘मन्त्रीहरु विदेश भ्रमण विरलै निस्किएकाले कर्मचारीका खुट्टा उचालिएका थिएनन्,’ अर्थका अधिकारीले भने, ‘मन्त्री ताँती लागेर विदेश जान थालेपछि कर्मचारी पनि हौसिने निश्चित छ ।’

शिक्षा मन्त्री यादव जेठ १८ गते मन्त्री उपस्थित हुनै नपर्ने बैठकमा भाग लिन डेनमार्क प्रस्थान गरेकी थिइन् । ‘भूकम्प र त्यसपछिका परकम्पनको त्रासपछि ताजगीका लागि सरकारी खर्चमा विदेश सयर गर्न चाहने उच्चपदस्थको संख्या ठूलो छ’ प्रधानमन्त्री कार्यालयका एक अधिकारी टिप्पणी गर्छन, ‘तिनलाई सयरमा पठाउने कि विपद पीडितलाई मनसुन र त्यसबाट निम्तिने सम्भावित विपदबाट जोगाउन लगाउने भन्ने प्रधानमन्त्रीमा भर पर्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •