‘चीनसँग पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्झौता हुन सक्छ’

340
  •  
  •  
  •  

झापा, १६ फागुन(ओएनएस) : आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्रीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले चीनसँग पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी प्रारम्भिक सम्झौता भइरहेको स्मरण गराउँदै अब व्यवसायीक सम्झौता प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने बताएका छन् ।

उनले नेपालको आवश्यक पेट्रोलियम पदार्थको ३० देखी ४० प्रतिशत चीनबाट आयात गर्ने योजना रहेको बताएका छन् । उनले भौतिक संरचनाको अभावका कारण अनुदानको पेट्रोलमात्र नेपालले ल्याउन सकेको भन्दै दीर्घकालिन र अल्पकालिन योजना निर्माण गरेर चीनसँग व्यापार बिस्तार गर्ने बताएका छन् ।

उनले चीनसँग व्यापार बिस्तार गर्नका लागि पूर्वाधार आवश्यक रहेको बताउँदै पहिले पूर्वाधार विकास गर्न सरकारले योजना ल्याउने बताए । उनले तातोपानी र केरुङ नाकाबाट पेट्रोलियम पदार्थ आयात हुने प्रष्ट पारे । उनले अन्य नाकाबाट आयात गर्न सडक बिस्तार आवश्यक रहेको बताए ।

सरकारले पेट्रोलियम पदार्थ भण्डारणका लागि देशभरका विभिन्न स्थानमा डिपो स्थापना गर्ने तयारी थालेको मन्त्री पुनको भनाई थियो । उनले देशमा भइरहेको चरम इन्धन अभावलाई टार्न कम्तीमा तीन महिनासम्म इन्धन सञ्चित गर्ने क्षमताका भण्डारणको तयारी गरेको बताए ।


  •  
  •  
  •