लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

303
  •  
  •  
  •  

काठमाडौं, ३ पुस ।
trainराजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो । तर, मेट्रो रेल सञ्चालन गर्न चाहिने लगानी जुटाउन बोर्ड असफल भएको छ ।

रेल विभागले नसकेपछि बोर्डलाई जिम्मा
रेल विभागले कोरियन कम्पनीको सहकार्यमा रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । बोर्डका कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले रेल सञ्चालनका लागि लगानी खोज्न नसकिएको स्वीकार गरे । ‘राजधानीमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सकिएको हो । त्यससम्बन्धी प्रतिवेदन बोर्डमा आएपछि लगानी खोज्नुपर्ने हो, तर सकिएन,’ उनले भने, ‘यस्तो किन भयो बुझ्न सकिएको छैन ।’ रेल सञ्चालन गर्न विभागले लगानी जुटाउन नसकेपछि सरकारले लगानी बोर्डलाई जिम्मा दिएको थियो ।

मेट्रो नेपाल प्रालिसँगको सम्झौता रद्द
लगानी बोर्डले रेलवे मार्ग निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न मेट्रो नेपाल प्रालिलाई ठेक्का दिएको थियो । तर, सो ठेकेदार कम्पनीको कार्यविधि चित्त बुझ्दो नभएपछि बोर्डले प्रालिसँगको सबै सम्झौता रद्द गरेको थियो । बोर्डले प्रालिलाई मेट्रो रेल निर्माणको डिपिआर तयारीका लागि टिओआर बनाउन २ फागुन ०६९ मै दिने निर्णय गरेको थियो । प्रालिको टिओआर चित्त बुझ्दो भए रेल निर्माणका लागि टेन्डर आह्वान गर्ने योजनामा बोर्ड थियो । तर, प्रालिले दुई वर्षसम्म पनि चित्त बुझ्दो टिओआर बुझाउन नसकेको बोर्डको दाबी छ । सिइओ अधिकारीका अनुसार बोर्ड लगानी जुटाउन गम्भीर छ । ‘राजधानीमा रेल गुडाउने सन्दर्भमा लगानी कहाँबाट कसरी ल्याउने भन्ने विषयमा बोर्ड गम्भीर छ । रेल विभागसँग चरण–चरणमा छलफल हुँदै छ । यही रफ्तारमा काम अघि बढे लगानी जुटाउन सकिनेछ,’ उनले भने । सम्भाव्यता अध्ययनअनुसार उपत्यकामा दु्रत गतिको ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ सञ्चालन गर्ने भनिएको छ ।

यस्तो थियो ’मेट्रो रेल’ सपना
महत्वाकांक्षी ‘मेट्रो रेल’को सञ्जाल उपत्यकाका ठूला सहरलाई लक्षित गरी निर्माण गर्ने तयारी थियो । उपत्यकामा ‘मेट्रो रेल’ निर्माणको सम्भाव्यता अध्ययन रेलवे विभागको संयोजकत्वमा कोरियन कम्पनी छुङ सू इन्जिनियरिङले तयार गरेको थियो । यसका लागि कम्पनीलाई एक वर्ष लागेको थियो । अध्ययनअनुसार उपत्यकाभित्र पाँच लाइनमा सञ्चालन हुन्थे ‘मेट्रो रेल’ । पहिलो, दोस्रो र तेस्रो लाइनमा गुड्ने रेलका लागि लिक ‘फ्लाइओभर’मा हुन्थे । चौथो र पाँचौँ लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिन्थ्यो । पहिलो लाइनमा चल्ने रेलको रुट सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुने व्यवस्था थियो । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म हुने उल्लेख थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथवरिपरि निर्माण हुने व्यवस्था थियो । चौथो नम्बरको अन्डर ग्राउन्डमा चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्ली बजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गरिने डिपिआर प्रतिवेदनमा उल्लेख थियो । पाँचौँका लागि धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँबजार हुँदै गोंगबुसम्मको लिक निर्माण गरिने व्यवस्था मिलाइएको थियो ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •