न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै संयन्त्र बनाउने सहमति

126
  •  
  •  
  •  

काठमाडौं, ९ कात्तिक (ओएनएस) : नयाँ संविधानमा न्यायालयभित्र हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै संवैधानिक निकायको गठनमा सर्वोच्च अदालतका न्यायाधीशहरु र प्रमख दलका शीर्र्ष नेतृत्वबीच समझदारी बनेको छ । संविधानमा सहमति गर्न बाँकी रहेका विवादमध्येको न्यायप्रणालीसम्बन्धी विवादका विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा प्रमुख तीन दलका शीर्ष नेताहरु र सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरुसँग भएको छलफलका क्रममा यस्तो समझदारी भएको हो ।

संवाद समितिका सभापति डा. बाबुराम भट्टराईका अनुसार न्यायलयभित्र हुने अदृष्य भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा संयन्त्र गठन गर्ने सहमति भएको हो । ‘ न्यायालयभित्र रहेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न एउटा छुट्टै संयन्त्र निर्माण गर्ने विषयमा सहमति भयो, भट्टराईल भने,‘छुट्टै संयन्त्र निर्माणको विषयमा राजनीतिक नेतृत्व र न्यायालयको नेतृत्वको बीचमा समझदारी हुनु सुखद र सकारात्मक पाटो हो ।’

आइतवार ४ घण्टासम्म चलेको छलफलमा न्यायप्रणालीसम्बन्धी टुंगो लाग्न बाँकी रहेका संवैधानिक अदालतको गठनको आवश्यकता, क्षेत्राधिकार, सर्वोच्च अदालतसँगको सम्बन्धको विषय, सर्वोच्च अदालत र संवैधानिक अदालतका न्यायाधीशहरुको योग्यता र पदावधि, सबै तहका न्यायाधीशहरुको नियक्ति प्रक्रिया र त्यसको निमित्त आवश्यक संयन्त्र, सर्वोच्च अदालतलगायत न्यायप्रणालीभित्र पनि रहेका अनियमितता र भ्रष्टाचारबारे छानविन नियन्त्रण गर्न छुट्टै संवैधानिक व्यवस्थाको आवश्यकताका विषयमा छलफल भएको थियो ।
प्रधानन्यायाधीश लगायत केही न्यायाधीशहरुले संवैधानिक अदालतको आवश्यकता नभएको र यसले दोहोरो खर्च ल्याउन सक्ने तथा न्यायपालिकामा अनिश्चितता र अन्यौलता पनि ल्याउन सक्ने राय दिएका थिए । संवैधानिक अदालतको विषयमा सर्वोच्च अदालतका केही न्यायाधिशहरुको पहिलेदेखि नै विमति रहँदै आएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुसँग पहिले पनि पटक पटक छलफल भएको उल्लेख गर्दै सभापति भट्टराईले यस पटकको छलफलले न्यायप्रणालीको विषयमा सहमति कायम गर्नुपर्ने विषयमा सहमति कायम गन महत्वपुर्ण सन्दर्भ सामाग्री दिएको भट्टराई बताए ।
छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरु र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुमार प्रसाद शाह, न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल, सुशीला कार्की र बैजनाथ उपाध्यायको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •