विशालदत्त भट्टको आख्यान ‘मेटाफर’ सार्वजनिक

1136
  •  
  •  
  •  

काठमाडौं । विशालदत्त भट्टको आख्यान पुस्तक ‘मेटाफर’ सार्वजनिक भएको छ ।  शनिबार एक कार्यक्रमकाबीच नेपाल ल क्याम्पसको सभाहलमा पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद शेरबहादुर तामाङ, विशिष्ट अतिथिमा नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, अतिथिका रुपमा पप तथा लोक गायक मिस्टर आरजे र वक्तामा डाक्टर बेन्जु शर्मा, डाक्टर गोपिन्द्र पौडेल, साहित्यकार ईन्द्र कुमार श्रेष्ठ तथा अस्विनी कोइरालाको उपस्थित रहेको थियो ।

उपस्थित वक्ता र अतिथिले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । सांसद तामाङले पुस्तकबारे बोल्दै नयाँ पुस्ताको साहित्यप्रतिको मोहलाई हौसला दिँदै जाँदा समृद्ध नेपालको प्रयासमा होस्टेमा हैसेँ हुने मत प्रकट गरे । कांग्रेस नेता घिमिरेले नेपाली साहित्यको सहि ढंगले विकास भएमा नेपाली समाजको पुनर्जागरण टाढा नरहेको मत प्रकट गरे ।
वक्ताहरुले भने पुस्तक र लेखकका बारेमा समिक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरेका थिए ।

कलिलो उमेरका लेखक विशाल दत्त भट्टलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।

पुस्तकभित्र विभिन्न परिवेशका १५ वटा कथाहरू छन् । कथाले नेपालको सुदुर पश्चिम हुँदै अन्य भेगलाई सुक्ष्म ढंगले चित्रण गरेको छ । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने पृथक शैली निर्माणको आदि विशेषतायुक्त यस पुस्तकले पाठकलाई सँगै हिँडाउँछन् ।
विशाल दत्त भट्टको यो पहिलो साहित्यिक पुस्तक हो ।

डोटी जिल्लामा जन्मिएका उनी हाल नेपाल ल क्याम्पसमा बिए.एल.एल.बि अध्ययनरत छन् ।


  •  
  •  
  •