काठमाडौ, २२ मंसिर(एजेन्सी) : स्पेनिस ला लिगाको गयराती सम्पन्न खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले ह्याट्रिक पुरा गरेपछि सहज जित हासिल गरेको छ ।
बार्सिलोनाले स्पानियोललाई ५-१ गोलअन्तरले पराजित गर्दै ला लिगामा रियल म्याड्रिडसँगको दूरी घटाएको छ । बार्सिलोना १४ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने १४ खेलबाट नै रियल म्याड्रिडले ३६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यता टोलीबीच को अगाडी भन्ने होड चलिरहँदा अर्कोतर्फ बार्सिलोनाका मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच सर्वाधिक गोल र ह्याट्रिकको चलिरहेको छ । टोली, मेसी र रोनाल्डोबीचको होडमा रियल म्याड्रिड र रोनाल्डो नै अगाडि देखिएका छन् ।
बार्सिलोनाको घरेलु मैदान नाऊ क्याम्पमा भएको खेलमा स्पानियोलले १३ औ मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि सर्जियो गासीले गोल गरेका थिए । तर, पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए र दोस्रो हाफमा बार्सिलोनाले थप ४ गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो ।
टोलीको जीतमा मेसीले ४५ औ, ५० औ र ८१ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यस्तै, खेलको ५३ औ मिनेटपछि पिकेले गोल गरे भने ७७ औ मिनेटमा पेड्रोले गोल गरेका छन् ।