ह्याट्रिकमा रोनाल्डोसँग मेसीको बराबरी

245
  •  
  •  
  •  

काठमाडौँ, २१ फागुन(ओएनएस) : ला लिगाको गयराती सम्पन्न खेलमा बार्सिलोनाका स्टार फुटबलर लिओनेल मेसीले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोसँग ह्याट्रिकको बराबरी गरेका छन् । गयराती सम्पन्न खेलमा बार्सिलोनालाई ५-१ गोलअन्तरको जित दिलाउने क्रममा मेसीले ह्याट्रिक पुरा गर्दै रोनाल्डोको ह्याट्रिकसँग बराबरी गरेका हुन् । अब यी दुवैको ह्याट्रिक संख्या बराबर अर्थात् ३५-३५ भएको छ ।

बार्सिलोनाले रायो भालोकानोलाई ५-१ गोलअन्तरले पराजित गरेको हो । ९ खेलाडीमा सिमित भएको रायोमाथी बार्सिलोनाले सहज जित हासिल गरेको छ । बार्सिलोनाले खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसका लागि इभान राकिटिकले गोल गरेका थिए । यस्तै, खेलको २३ औँ र ५३ औँ मिनेटमा गोल गर्दै लियोनेल मेसीले खेललाई ३-० को अवस्थामा पुर्याए ।

खेलको ४२ औँ मिनेटमा डियगो लोरेन्टलाई फल गरेको भन्दै रेड कार्ड दिइएपछि रायो मात्र १० खेलाडीमा सिमित भएको थियो । तर, ३-० ले पछि परेको अवस्थामा रायोका मानुचोले खेलको ५७ औँ मिनेटमा गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए तर, खेलमा जित हासिल भने गर्न सकेनन् ।

रायोको दुर्भाग्य खेलको ६७ औँ मिनेटमा म्यानुअल इटुराले रातो कार्ड पाएपछि रायो ९ खेलाडीमा सिमित भयो र थप दवामा पर्‍यो । तर, लुइस स्वारेजले सोही समयमा पाएको पेनाल्टी मिस गरेपछि रायोले केही राहत महशुस भने गरेको थियो । तर, खेलको ७२ औँ मिनेटमा मेसीले व्यक्तिगत तेस्रो गोल गर्दै कीर्तिमानी ह्याट्रिकसँग बराबरी गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याए ।

यसपछि खेलको ८६ औँ मिनेटमा अर्दा टुरान गोल गर्दै खेललाई ५-१ को स्थितिमा पुर्‍याए र खेलमा बार्सिलोनाले जित हासिल गर्‍यो ।
यो जितसँगै बार्सिलोनाको अपराजित जितको संख्या ३५ पुगेको छ । जुन एक अर्को कीर्तिमान पनि हो । बार्सिलोनाले करिब २७ वर्ष पुरानो रेकर्ड तोडेको छ । उसले चीरप्रतिद्वन्द्वी रियल मड्रिडको अपराजित यात्राको कीर्तिमान तोडेको हो ।


  •  
  •  
  •