मेसीले गुमाएको अवसर

224
  •  
  •  
  •  

रियो दि जेनेरियो (एएफपी), असार ३१ -अर्जेन्टिनी कप्तान लियोनल मेसीले हातमा सुनको ट्रफी लिएर विश्वकप टुंग्याएका छन् । तर, यो उनले चाहेको ट्रफी भने होइन ।
माराकाना स्टेडियममा भएको फाइनलको अन्त्यमा हि्वसल बज्दा गर्विला खेलाडी मेसी मैदानमै निहुरिरहेका थिए । उनलाई गोल्डेन बल अवार्ड लिन बोलाइएको थियो । उनमा बाध्यतावशको मुस्कान देखिएको थियो । किनभने अर्जेन्टिना फाइनलमा हारेको थियो । र, त्यसले उनलाई साँच्चिकै महान् खेलाडीका रुपमा स्थापित गर्नबाट रोकिदियो ।
‘यो सत्य हो कि मलाई यो क्षण मन पर्दैन,’ उनले भने । २७ वर्षीय उनले बार्सिलोनाका लागि सबथोक जितिसकेका छन् । र, प्रत्येक कीर्तिमान पनि भत्काएका छन् । त्यसैले विश्वकप फाइनल उनका लागि महान् खेलाडीका रूपमा स्थापित हुने सबैभन्दा राम्रो अवसर थियो ।
पेले, जिनेदिन जिदान र रोनाल्डोले विश्वकप फाइनलमा निर्णायक गोल गरेका थिए । डिएगो म्याराडोनाले सन् १९८६ को फाइनलमा गोलको अवसर सिर्जना गरेका थिए । तर, मेसीले मारियो गोएट्जले सनसनीपूर्ण गोल गरेर अतिरिक्त समयमा जर्मनीलाई जिताएको क्षण सामना गर्नुपर्‍यो ।
मेसी आफैंले दोस्रो हाफको सुरुमै सुन्दर अवसर पाएका थिए । त्यसबेला जर्मन गोलकिपर म्यानुएल नोयलाई मात्र उछिन्न बाँकी थियो । तर, उनले बल बाहिर प्रहार गरे । उनले निश्चित गोलको अवसर पाएको त्यही एउटा हो । तर, उनी नकआउट चरणका अघिल्ला खेलमा जस्तै असफल भए । म्याराडोनाले प्रत्येक खेलमा सुधार गरेपछि अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो । उनले इंग्ल्यान्डविरुद्ध क्वाटरफाइनल र बेल्जियमविरुद्ध सेमिफाइनलमा २-२ गोल गरेका थिए । यस्तोमा मेसी कमजोर देखिए ।
समूह चरणमा जादूयी खेल पस्कँदै चार गोल गरेपछि मेसीले अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध एन्जोलो डि मारियाका लागि निर्णायक गोलको अवसर सिर्जना गरेका थिए । तर, बेल्जियमविरुद्ध क्वाटरफाइनलमा कहिलेकाहीं मात्र देखिएका उनी नेदरल्यान्ड्सविरुद्ध सेमिफाइनलमा त गुपचुप नै रहे ।
प्रशिक्षक अलेजान्ड्रो साबेलाको नेतृत्वमा मेसीले पहिलोपल्ट लगातार चार खेलमा गोल गर्न सकेनन् । साबेलाले आफ्नो उपहार (मेसी) लाई सही स्थान र पृथकपनका लागि महत्त्वपूर्ण समय दिएनन् । त्यो सबैभन्दा ठूलो कुरा हो ।
बुवाले पनि मेसी थाकेकाले फाइनलमा असफल हुन सक्ने सुझाव दिइसकेका थिए । उनमा ठूलै भार थियो । त्यसैले साबेलाले भनेका थिए, ‘यो निकै ठूलो आस गरिएको प्रतियोगिता हो । त्यसैले शारीरिक रूपमा सबैजना थाक्ने गर्छन् । मेसी महान् खेलाडी भइसकेका छन् ।’
मेसीले बार्सिलोनाका लागि ४ सय २५ खेलमा ३ सय ५४ गोल गरेका छन् । त्यसमा भएको कलालाई लिएर उनलाई महान् होइन भन्न मिल्दैन । तर, उनलाई विश्वकपमा कहिल्यै सब्स्टिच्युट गरिएन । ‘मेरो व्यक्तिगत सबै कीर्तिमान विश्व च्याम्पियन हुनलाई दिनेछु,’ फाइनलअघि जर्मन ट्याब्लोइड बिल्डलाई मेसीले भनेका थिए, ‘बेलुन डे’आरभन्दा विश्वकप जित्न चाहन्छु । खेलाडीका रूपमा विश्वकप जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । युवा छँदाको सपना यही हो र त्यसबाट कहिल्यै टाढा गएको छैन ।’
मेसीलाई सेमिफाइनलमा नेदरल्यान्ड्सले सफलतापूर्वक ‘मार्क’ गरेको थियो । जर्मन खेलाडी पनि उनकै वरिपरि थिए । विश्वकप २०१० मा अर्जेन्टिनालाई ४-० ले हराएको जर्मनीका बास्टिन स्वाइन्स्टाइगर मेसीकै क्षेत्रबाट खेलेका थिए । र, उनले मेसीलाई निरन्तर बाधा पुर्‍याइरहेका थिए ।
माराकानामा हजारौं अर्जेन्टिनीको प्रतीक्षापछि दोस्रो हाफमा ल्युकास बिग्लियाको पासमा मेसीले प्रहार गरेको बल पोस्टको दायाँतर्फबाट बाहिरिएको थियो । इन्ज्युरी टाइममा पाएको अन्तिम अवसरमा उनले ३० यार्डबाट प्रहार गरेको पि|mकिक बल पोस्टमाथिबाट गयो । अर्जेन्टिना सन् १९९० को फाइनलमा पश्चिम जर्मनीसँग हारेपछि म्याराडोना रोएका थिए । मेसी त्यस्तो भावनात्मक देखिएनन् । उनी अर्को विश्वकपमा ३१ वर्षका हुनेछन् । र, विश्वकप जित्ने योभन्दा राम्रो अवसर उनले कहिल्यै पाउने छैनन् ।
कान्तिपुर

  •  
  •  
  •