‘बागमतीको सफाइ राजनीति भित्रका फोहोर सफा गर्ने सन्देश’

177
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले बागमती सफाइ महाअभियानले निरन्तरता पाउने बताएका छन् । बागमतीको सभ्यता र पहिचान संरक्षणका लागि जनताको उठेको हातलाई सरकारको साथ रहने उनको भनाइ थियो ।

‘जनताको हात उठिसकेको छ,’ सयौं हप्ताको अवसरमा आयोजित मानव साङ्लो अभियानमा सहभागी हुन तिलगंगा पुगेका प्रधानमन्त्रीले भने, ‘सरकारले पूरापूर साथ दिन्छ । वागमती नदी सफा हुने क्रममा रहे पनि ढलको समस्या जटिल छ । यसको समाधानमा पनि सबैको साथ चाहिन्छ ।’

बागमतीको सफाई अभियानले समग्र नेपाललाई स्वच्छ वातावरण, शान्ति, लोकतन्त्र र विकासको पक्षमा लाग्न प्रेरणा दिएको प्रधानमन्त्रीको भनाइ छ । लाखौ जनताको सहभागिता भएको, सरोकार, आस्था तथा प्रतिबद्धता रहेको बागमती नदीको सफाई अभियान सफल हुनेमा आफू विश्वस्त रहेको कोइरालाले बताए ।

‘यस अभियानले काठमाण्डौ उपत्यकासहित नेपालभरका शहर र नगर वरिपरिका नदी, तलाउ पोखरी सफाई गर्न स्थानीयलाई हौसला मिलेको छ ।’ उनले भने । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमतीमा फोहोर नगर्ने संस्कार नबसेसम्म बागमती सफाइ नहुने बताएका छन् ।

मानव साङ्लोसहितको सफाइमा काठमाडौंको तीनकुनेमा सहभागी भएका प्रचण्डले बागमती सफाइसँगै फोहोर नफाल्ने सन्देश दिनु पर्नेमा जोड दिए । ढल नरोकेसम्म बागमती सफा नहुने प्रचण्डको भनाइ छ ।

उनले भने, ‘बागमती सफाइ अभियानले एकताको नयाँ सन्देश ल्याएको छ । यसले राजनीति भित्रका फोहोरलाई पनि सफा गर्न राम्रो सन्देश दिए मैंले ठानेको छु । यो एकताको सन्देश राजनीतिक गतिरोध अन्त्यका लागि पनि हो । यसबाट राजनीतिक दलले पनि नयाँ पाठ सिक्नुपर्छ ।’

बागमती नदीको दुवैतिर करिब ५६ किमि क्षेत्रमा बनाइएको मानव साङ्लोको व्यवस्थापनको जिम्मा विभिन्न मन्त्रालयका सचिवलाई दिइएको थियो । गोकर्णदेखि सुन्दरीजलसम्मको मानव साङ्लोको जिम्मेवारी ८ गाविसका स्थानीयलाई दिइएको थियो ।

Bagmati kinar


  •  
  •  
  •