सामुदायिक मेलमिलाप सम्बन्धि राष्ट्रिय सम्मेलन काठमाडौमा

282
  •  
  •  
  •  

काठमाडौं १३ जेठ (ओएनएस) :
सामुदायिक मेलमिलाप सम्बन्धि दुईदिने राष्ट्रिय सम्मेलन काठमाण्डु हुने भएको छ । सामुदायिक मेलमिलापलाई राष्ट्रिय मेलमिलापमा जोड्ने गरि विज्ञसहितको राष्ट्रिय सम्मेलन हुन लागेको हो । १५ र १६ गते हुन लागेको सम्मेलनमा देशभरीबाट २ सय ५० भन्दा बढी सामुदायिक मेलमिलाप कर्ताहरुको सहभागिता रहनेछ । एसिया फाउण्डेसनले मेलमिलाप परिषद्सँगको सहकार्यमा  “मेलमिलापका माध्यमबाट शान्ति तथा न्याय” शीर्षकमा काठमाडौमा हुन लागेको राष्ट्रिय सम्मेलनमा विभिन्न कार्यपत्रका विषयमा पनि छलफल हुनेछ ।

मेलमिलापको क्षेत्र कार्यरत व्यक्तिहरु एवम्् प्राज्ञहरुलाई विभिन्न क्षेत्रका पेशागत व्यक्तिहरु र नागारिकलाई एकै ठाउँमा ल्याउनेगरि सम्मेलन गर्न लागेको एसिया फाण्डेसनका कार्यक्रम अधिकृत नमित वाग्लेले जानकारी दिए । कार्यक्रममा मेलमिलापकर्ताहरु, न्यायाधीशहरु, प्राज्ञहरु, संवाद सहजकर्ताहरु, पत्रकारहरु तथा विद्यार्थीहरुका लागि सञ्जाल निर्माणका विषयमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय विज्ञसहितको सम्मेलनले एउटा बृहत सन्दर्भको खोज अन्वेषण गर्ने वाग्लेले जानकारी दिए । फाउण्डेसनको सामुदायिक मेलमिलाप कार्यक्रमले सन् २००१ देखि नै द्वन्द्व रुपान्तरण एवम् शान्ति स्थापना कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

वर्तमानमा नेपालका पाँचै विकास क्षेत्र गरी १९ जिल्लाहरुको ५१४ समुदायहरुमा यो कार्यक्रम सञ्चालित छ । यस फाउण्डेसनले हालसम्म ७,००० भन्दा बढी मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गरेको छ, तथा २७,००० वटा विवादहरुलाई ८५ प्रतिशत सफलतम समाधानको दरमा मेलमिलाप कायम गरिसकेको छ ।


  •  
  •  
  •