मेलम्ची नगरपालिका खारेजीको माग गर्दै स्थानीयद्धारा कार्यालयमा तालाबन्दी

431
  •  
  •  
  •  

काठमाडौ, २७ पुस(ओएनएस) : नगरपालिका घोषणा भएपछि जनताले सुविधाभन्दा दुःख बढि पाएको भन्दै सिन्धुपालचोकका स्थानीयले कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

नगरपालिका घोषणा गर्नुअघि पूरा गर्नुपर्ने भौतिक पूर्वाधार पूरा नगरी नगरपालिका घोषणा गरेको भन्दै सिन्धुपालचोकको मेलम्ची नगरपालिकामा पर्ने फटकशीलाका वडा नम्बर १० र ११ का वडा कार्यालयमा स्थानीयबासीले अनिश्चितकालिन तालाबन्दीको माग गरेका छन् ।

करिब २ हजार स्थानीयबासीको उपस्थिति रहेको एक स्थानीयबासीको टोलीले तालाबन्धी गर्दै तत्काल भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने, गुठी समस्या समाधान गर्नुपर्नेलगायतका माग राख्दै प्रशासनविरूद्ध नाराबाजी गर्दै मेलम्ची नगरपालिका खारेजीको माग गरेका थिए ।

सानोतिनो व्यवसाय गर्दा पनि सुख नपाइने,  नक्सा पासदेखि जग्गाको कर तिर्नुपर्ने, कुखुरा पाल्न टहरा बनाउँदा पनि अनेक झमेला व्यहोर्नुपर्ने भएको भन्दै यस्तो नाममात्रको नगरपालिका आफूहरूलाई नचाहिने स्थानीयहरूको भनाई छ ।

उनीहरूले जनतासँग कर माग्न आउनुभन्दा जनतालाई सुविधा दिनुपर्ने माग स्थानीयबासीले गरेका छन् । अन्यथा उक्त नगरपालिकाको कुनै काम नभएको जनाएका छन् ।

नगरपालिका हुनका लागि चाहिने मापदण्ड नै पूरा नगरी सरकारले हतारमा गरेको यस कदमले अहिले देशभरि नै यस्तै समस्या उत्पन्न भइरहेको स्थानीय बताउँछन् ।


  •  
  •  
  •