मेलम्चीको पाइप बिछ्याउने काम साउनमा सकिने

82
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउने सबै काम आगामी साउन पहिलो साताभित्र सकिने भएको छ । अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम भइरहेको छ । उपत्यकामा खानेपानी वितरणका लागि कुल ६ सय ७३ किमि पाइप बिछ्याइँदै छ । त्यसमध्ये चार सय ५० किमि पाइप बिछ्याइसकिएकोे छ ।

मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका अनुसार अब काठमाडौं उपत्यकामा दुई सय २३ किमि मात्रै पाइप बिछ्याउन बाँकी छ । निर्देशनालयका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले पनि आठ महिनाभित्र पाइप बिछ्याउने काम सकिने बताए । उनले भने, ‘अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम हुँदै छ । यही रफ्तारमा काम अघि बढे बाँकी दुई सय २३ किमि पाइप बिछ्याउन काम करिब आठ महिनामा सकिन्छ ।’ प्रवक्ता ढकालले अहिले चौबिसै घन्टा काम भइरहेको पनि बताए ।

निर्देशनालयका अनुसार पाइप बिछ्याउन मात्रै दैनिक एक हजार दुई सय कामदार खटिरहेका छन् । फिल्डमा प्रत्येक दिन ५० जना इन्जिनियर खटिएका छन् । अहिले ४० स्थानमा एकैपटक काम भइरहेको छ । निर्देशनालयले उपत्यकाभित्र थोक वितरण (बिडिएस) र वितरण सञ्जाल सुधार (डिएनआई) गरी दुई प्रणालीबाट पाइप बिछ्याइरहेको छ । थोक विरतरण प्रणालीअन्तर्गत ३२.५६ किमि पाइप बिछ्याइसकिएको छ । यसअन्तर्गत सुन्दरीजलदेखि चुच्चेपाटी पानी ट्यांकी (९.६ किमि)सम्म पाइप बिछ्याउने काम सकिएको छ ।

वितरण सञ्जाल सुधारअन्तर्गत अहिले ज्ञानेश्वर, सिनामंगल, गौशाला, हाँडीगाउँ, कालोपुल, कोटेश्वर, नरेफाँट, ग्वार्को, मानभवन, लगनखेललगायतका स्थानमा पाइप बिछ्याउने काम भइरहेको निर्देशनालयले जनाएको छ । मैतीदेवी, रातोपुल, घट्टेकुलो, डिल्लीबजार, सेतोपुल, पुरानो बानेश्वर, अनामनगर, बबरमहल, सोह्रखुट्टे, सानेपा, कुपन्डोल, सुविधानगर, सहयोगी नगर, वनस्थली, शोभाभगवती र चमती प्लानिङ क्षेत्रमा पाइप विस्तारको काम सम्पन्न भएको छ ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •