६ दिनदेखि रोकिएको मेलम्चीको सुरुङ निर्माण सूचारु

289
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (ओएनएस) : ६ दिनदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काम मंगलबार बिहानैबाट सुरु भएको छ।

सुरुङ निर्माणमा संलग्न कामदारको हड्तालका कारण काम ठप्प बनेकोमा  इटालियन ठेकेदार कम्पनी सिएमसीले कामदारलाईतलब उपलब्ध गराएपछि सिन्धु–ग्याल्थुम खण्डको काम सूचारु भएकाे आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए।

आयोजनाको २७ दशमलव ५ किमी सुरुङ अन्तिम चरणमा पुगेकोमा १६ फागुनबाट काम हुन सकेको थिएन।
अब १ सय ९० मिटर सुरुङ खन्न बाँकी रहेको छ।

पाँच दिन काम रोकिएपनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ। ठेकेदार कम्पनीले प्रक्रिया पु¥याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाले बताए।

सम्झौतामा बिल भर्पाइ पेश भएको ५६ दिनमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म समयसीमा कटाइएको छैन । यसअघि मुहानस्थल अम्बाथानमा कार्यरत मजदुरले पनि लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए।

आयोजनाको सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान सुरुङखण्ड यसअघि नै छिचोलिएको छ। सुरुङ निर्माण सम्पन्न भई आउँदो दशैँ अघि मेलम्चीको पानी राजधानीको धारामा वितरण हुने विश्वास गरिएको छ।


  •  
  •  
  •