काठमाडौं ८ कात्तिक (ओएनएस) : आगामि ९ र १० गते तय गरिएको राजनीतिक वार्तालाई निर्णायक बनाउन दलहरुबीच आन्तरिक छलफल सुरु भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई शीर्ष तहमा छलफल सुरु गरेका छन् । संविधानका अन्तरबस्तुमा दलहरुबीच रहेका मतभेदलाई सहमतिमा रुपान्तरण गर्न भट्टराईले आज प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेका छन् । दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा विवाद समाधान गर्नेमा कुराकानी भयो । संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले तिहारमा पनि राजनीतिक भेटवार्तालाई तीब्र पारेका छन्। संविधानका अन्तरबस्तुका विवादमा सहमति जुटाउन भट्टराईले आज बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन्।
भेटमा गरी सहमति निर्माणका लागि आग्रह गर्दै प्रधानमन्त्रीको सहमति निर्माणको निम्ति बलियो भूमिकाको आफूले अपेक्षा गरेको बताएका थिए। पहिलो चरणमा प्रमुख तीन दलका बीचमा गोकर्णमा भएको बैठकका बारेमा पनि सभापति भट्टराईले प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
भट्टराईलाई प्रधानमन्त्री कोइरालाले चाँडो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने आश्वसन प्रधानमन्त्रीले दिएका छन्।
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । दुईनेताबीच भएको भेटवार्तामा तिहार लगत्तै ९ गतेदेखि बस्न लागेको प्रमुख दलहरुबीचको दोस्रो चरणको निर्णायक बैठकबाट विवादतका विषय टुङ्गोमा पुरयाउने सहमति भएको छ । भोलि प्रधानन्यायाधीश र पूर्व प्रधानन्यायधीशहरुसँग छलफल गर्नुहुनेछ । यसअघि पहिले चरणको बैठक गोकर्णमा विना निस्कर्ष सकिएको थियो ।