‘लगानीको वातावरण छ,अमेरिकी लगानीकर्तालाई सुनाइदिनुस’अर्थमन्त्री

338
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) : अर्थमन्त्री डा रामशरण महतले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी उपयुक्त वातावरण भएको सुनाइदिन अमेरिकी राजदुत पिटर बोडेलाई  आग्रह गरे ।

नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व भएको, लगानीको वातावरणमा उल्लेख्य सुधार भएको र विदेशी लगानी धमाधम आउन थालेको जानकारी समेत जानकारी गराए ।
बिहीवार अर्थमन्त्रालयमा भएको भेटघाट कार्यक्रममा उनले बिद्युत उत्पादनका क्षेत्रमा लगानीको वातावरण राम्रो भएको जानकारी दिए ।

साथै महतले हालै भारतसँग बिद्युत व्यापार सम्झौता भैसकेकोले उत्पादित बिद्युतको ठूलो बजार प्राप्त हुने भएकोले यस क्षेत्रमा ढुक्कसँग लगानी गरी लाभ लिन सकिने बताए ।

‘लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन सरकारले करिव तीन दर्जन कानूनहरुमा सुधार गर्ने व्यापक तयारी गरिरहेको छ’ उनले भने ‘आउदो अधिवेशनमा ती बिधेयकहरु पारित हुनेछन ।’
पछिल्लो समयमा लगानीको वातावरणमा भएको सुधारबारे अन्तर्राष्ट्रिय निकायहरुले समेत प्रतिवेदनहरु सार्वजनिक गरिरहेको उनले जानकारी दिए ।

पछिल्लो प्रतिवेदनका अनुसार नेपाल दक्षिण एसियाली देशहरुमै लगानीको लागि दोस्रो आकर्षक गन्तब्यस्थल बन्न सफल भएको समेत उनले जानकारी दिए ।
नेपालका लागि ठूलो सहयोग आवश्यक परेको भन्दै अमेरिकासँग नियमित सहयोगका अतिरिक्त मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत पनि सहयोग गर्न आग्रह गरे ।

सो अवसरमा राजदूत बोडेले एमसीसीमार्फत सहयोगको लागि आफूले सदासयतापूर्वक आफ्नो सरकारसमक्ष कुरा राख्ने जानकारी दिए ।
त्यस्तै बिद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौताले राम्रो सन्देश दिएको बताए ।

नेपालमा अहिले लगानीको वातावरण राम्रो भएकोले  आगामी दिनमा थप लगानी आउने आशा ब्यक्त गरे ।
सो अवसरमा अमेरिकाले नेपाललाई दिदै आएको सहयोग र त्यसको कार्यान्वयनबारे छलफल भएको थियो ।


  •  
  •  
  •