काठमाडौं, १८ पुस (अाेएनएस) : राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न भन्दै बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सोमबार सिंहदरबारमा बसेकाे बैठकमा सत्तापक्ष र प्रतिपक्षले पुरानै अडान दोहोर्याएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।
सत्तारुढ दलका नेताहरूले संशोधन प्रस्तावमा समर्थन गर्न आग्रह गर्दा एमालेका नेताहरुले भने फिर्ता लिन भनेका थिए ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन फिर्ता नलिएसम्म सहमति नहुने बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि निरन्तर संवाद जारी रहने बताए ।
संविधान संशोधन विधेयकसहितका समसामयिक राजनीतिक विषयमा सहमति खोज्न भन्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक भएको थियो ।
बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए ।