तीन दलको बैठक नबसी स्थगित

456
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन आज गर्ने भनिएको निर्णायक वार्ता एमालेका शीर्ष नेता अनुपस्थित भएपछि स्थगित भएको छ ।

सोमवार विहान सिंहदरवारस्थित राज्य व्यवस्थाको हलमा कांग्रेस र एमाओवादीका नेता उपस्थित भएपनि एमालेका शीर्ष नेता अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । गोकर्ण बैठकमा सहभागी एमाले नेताहरु अध्यक्ष केपी ओली, माधव नेपाल र बामदेव गौतम बैठकमा अनुपस्थित रहेपछि बैठक बस्न नसकेको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।

दलहरुबीच आज संविधानका विवादित विषयमा सहमति जुटाउन निर्णायक वार्ता गर्ने भनिएको थियो । संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई कात्तिक १५ गतेसम्म अन्तिम समय दिएको थियो । यो विचमा राज्य पुर्नसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली तथा निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुटाइसक्नुपर्ने छ ।

विवादित विषयमा सहमति जुटाउन भन्दै दलहरुबीच आइतवार द्विपक्षीय तथा आन्तरिक छलफल भएको थियो । तिहार अगाडि पनि गोकर्णमा आवासीय बैठक गरेर विवादित विषयमा सहमति जुटाउने प्रयास गरेपनि त्यो असफल भएको थियो ।


  •  
  •  
  •