सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न प्रमुख दलबीच सहमति

79
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (ओएनएस): नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले राष्ट्रिय राजनीतिक सभा गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साढे तीन घण्टा चलेको बैठकमा राष्ट्रिय राजनीतिक सभा गर्ने सहमति भएको हो ।

राष्ट्रिय राजनीतिक सभाको विधि र मितिबारे गृहकार्य गर्न ८ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा चार वटै पार्टीका दुई दुई जना नेता सदस्य तोकिएका छन् । कांग्रेसको तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र कानूनमन्त्री नरहरि आचार्य, एमालेको तर्फबाट पार्टी उपाध्यक्ष भीम रावल र सभासद् अग्नी खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा माओवादीका तर्फबाट सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुषाललाई कार्यदलको सदस्य बनाइएको छ । कार्यदलले शुक्रबारबाटै काम सुरु गर्ने बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

नेकपा माओवादीले संविधानका अन्र्तवस्तुमा सहमति गर्नका लागि सर्वपक्षीय राजनीतिक सभा गरिनुपर्ने माग गर्दै आएको थियो ।

बैठकमा सहभागी नेताहरुले सर्वपक्षीय राजनीतिक सभा नभएसम्म संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयास जारी राख्ने बताएका छन् । सहमति जुटाउन समितिलाई दिइएको म्याद आगामी शनिबार सकिंदै छ ।


  •  
  •  
  •