निर्णायक भनिएको वार्ता स्थगित

163
  •  
  •  
  •  

काठमाडौं ९ कात्तिक (ओएनएस) :  तिहार पछि लगत्तै निर्णायक वार्ता गर्ने भनेका दलहरु आइतवार दिनभर जसो आन्तरिक तथा द्विपक्षीय वार्तामा व्यस्त रहे । तिहार अगाडि संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईको अग्रसरतामा गोकर्णमा भएको वार्ता विना निष्कर्ष टुंगिएपछि तिहार लगत्तै निर्णायक वार्ता गर्ने सहमति भएको थियो । दलहरुबीच कात्तिक ९ गते निर्णायक वार्ता गर्ने मितिसमेत तय भएको थियो ।

तर, नौ गते प्रमुख दलका शीर्ष नेताहरु आन्तरिक तथा द्विपक्षीय वार्तामा व्यस्त रहे । आइतवार विहान प्रमुख दलका शीर्ष नेता सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरुसँग न्याय प्रणालीका विवादित विषयमा छलफल गरे । न्यायाधीशहरुले संवैधानिक अदालत राख्न नहुने सुझाव दिएका थिए भने न्यायलयभित्र हुने भ्रष्टाचार छानविन गर्न छुट्टै निकाय बनाउन सहमति भएको छ । संविधानका विवादित विषयमध्ये न्यायप्रणालीपनि एक हो ।

न्यायाधीशसँगको छलफल पछि एमाले र एमाओवादीबीच छुट्टै छलफल भएको छ । राजधानीको बबरमहलस्थित शान्ति कोषको सचिवालयमा भएको वार्तामा संविधानका विवादित विषयमा छलफल भएको स्रोतले जनाएको छ । एमाले बढीमा सात भन्दा बढी प्रदेश बनाउन नहुने पक्षमा छ भने एमाओवादी दश प्रदेश बनाउनुपर्ने पक्षमा रहेको छ । दुईदलबीचको बार्तामा विवादित विषयमा कतिसम्म लचक हुने भन्ने विषयमा छलफल भएको थियो ।

एमालेसँगको वार्तापछि सत्तारुढ कांग्रेस र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका सहयोगी चुडामणि खड्काका अनुसार अहिले साँझ ६ बजे बालुवाटारमा कांग्रेस र एमाओवादीबीच वार्ता हुने भएको हो । आज अनौपचारिक छलफल गरेका दलहरु भोली निर्णायक वार्ता गर्ने तयारीमा रहेका छन् । संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरुले छलफललाई निरन्तरता दिएपनि सहमतिमा पुग्न सकेका छैनन । दलहरुबीच संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली तथा निर्वाचन प्रणालीलगायतका विषयमा विवाद छ ।


  •  
  •  
  •