पहिलो चरणको ‘निर्णायक’ वार्ता निष्कर्षविहीन

196
  •  
  •  
  •  

काठमाडौं, ५ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै मंगलवार र बुधवार बसेको प्रमुख तीन दलको आवासीय बैठक विना निष्कर्ष टुंगिएको छ । कात्तिक ९ र १० गते पुन निर्णायक वार्ता गर्ने भन्दै दुई दिनको आवासीय बैठक विना निष्कर्ष टुंगिएको हो ।
संघीयता, राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुटाएर माघ ८ मै संविधान जारी गर्ने प्रयास सहित नेताहरुले बुधबार बिहानैदेखि गोकर्ण रिसोर्टमा आवासीय बैठक गरेका थिए ।

उक्त बैठकमा दलहरुले विशेष गरेर संघीयताका विषयमा आफ्नो अडानबाट पछि हट्न नमानेपछि बैठक निष्कर्षविहीन भएको हो । एमाले महासचिव इश्वर पोखरेलका अनुसार एमाओवादीले जातीय पहिचान र संघीयताका विषयमा कुरा मिल्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो ।

‘एमाओवादीले दश प्रदेशबाट पछि हट्न मानेन, पोखरेलले ओएनएससँग भने,‘ एमाओवादीले भनेजस्तो दश प्रदेशमा जाँदा पश्चिमका कैलाली कंचनपुर र पुर्वका झापासहित धेरै ठाउँलाई टुक्रा पार्नुपर्ने हुन्छ । हामीले त्यसो गर्नु हुँदैन भनेका छौं ।’ स्रोतका अनुसार बैठकमा कांग्रेस–एमालेले भने सात प्रदेश भन्दा बढी बनाउन नुहने बताएका थिए ।

एमाओवादीले जातीय पहिचानसहितको संघीतामा अडान लिएको महासचिव पोखरेलले बताए । ‘हामीले साझा पहिचान पक्षमा कुरा राख्यौं, उनले भने,‘ तर एमाओवादीका साथीहरु जातीय पहिचानबाट टसमस हुनु भएन ।’
जसरी पनि सहमति गर्ने दाबी सहित आवासीय बैठक गरेका दलहरुले तिहार मनाउने भन्दै बैठक सकेका हुन् । तिहार लगत्तै पुन बैठक बस्ने नेताहरुले बताएका छन् ।


  •  
  •  
  •