भाषण गर्दै निस्किए ठुला दलका नेता

62
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) संविधानका विवादित विषयमा सहमति जुटाउने अन्तिम दिन बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा प्रमुख दलका नेताहरुले सहमति जुटाउने भन्दा पनि आफ्ना दलको अडान राखेर बाहिरिएका छन् । उनीहरुले सहमतिको कुरा गरेनन् बरु आफ्नो अडान राखे ।

प्रधानमन्त्रीसहितको उपस्थितिमा बसेको बैठकमा सबै दलका नेताले आफ्नो बटमलाईन अनुसार सहमति हुनुपर्ने प्रस्ताव राखे । नेताहरुले आफ्नो भनाई सकिएपछि बाहिरिएका थिए । प्रधानमन्त्री सुशील कोइरालाले बैठकमा कांग्रेसले प्रस्तव गरेको ६ वा ७ प्रदेशमा सहमति गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री धेरै प्रदेश बनाउँदा मुलुकले धान्न नसक्ने तर्क गर्दै कांग्रेसले प्रस्ताव गरेको प्रदेशमा सहमति गर्न आग्रह गरे ।
प्रधानमन्त्री पछि बोलेका एमाले नेता माधव नेपालले भने निर्वाचन प्रणालीका विषयमा व्याख्या गरेका थिए । एमालेले यसअघि राखेको कार्यकारी प्रधानमन्त्रीको सट्टा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिसहितको निर्वाचन प्रणाली अपनाउनुपर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निर्वाचित भएको दुईवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईगरी एमाले नेता नेपालले प्रस्ताव गरेका छन् । एमालेले यसअघि जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपतिको पक्षमा अडान लिँदै आएको थियो ।
एमाओवादीले भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चयनको मागलाई छोड्दै जनतबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव गरेको छ । बैठकमा प्रधानमन्त्री, एमाले नेता माधव नेपाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मात्र आफ्नो भनाई राखेका थिए । उनीहरुले आज दिनभर सहमतिको प्रयास गर्ने भन्दै बैठक छोट्याएका थिए ।


  •  
  •  
  •