तीन दलबीच फेरि अर्को पाँच बुँदे सहमति, संसद खुल्यो

96
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : करिब डेढ महिनादेखि अबरुद्ध संसद सुचारु गर्न प्रमुख तीन दलबीच पाँच बुँदे सहमति भएको छ । बुधवार बसेको प्रमुख तीन दलको बैठकले एमाओवादीले माग गर्दै आएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सहमति जनाएपछि भदौ १३ गतेदेखि अबरुद्ध व्यवस्थापिका संसद सुचारु भएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सहमति अनुसार गठन हुने संयन्त्रमा कांग्रेस, एमाले र एमाओवादीबाट तीन तीन जना रहने तथा मधेसी दलबाट तीन जना, यसैगरी राप्रपा र नेकपा मालेबाट एक एक जना रहने सहमति भएको छ ।

संयन्त्रको संयोजक सुरुका दुई महिना एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने पनि सहमति भएको छ ।

 राजनीतिक समितिको निर्णय भने सहमतिको आधारमा हुने बताइएको छ । यसैगरी सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेवत्ता व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा सरकारले निर्देशिका बनाइ यसै आर्थिक वर्षमा दुई लाख किस्ता दिने पनि दलहरुबीच सहमति भएको छ ।

रुकुम, रोल्पा, जाजरकोट, सल्यान र प्यूठान गरी ५ जिल्लाहरुमा जग्गा लेनदेन गर्दा विविध कारणले रजिष्ट्रेशन पास हुन नसकेका जग्गाको हकमा दुवै पक्ष मंजुर भई आएमा चालु आर्थिक वर्षमा दुई प्रतिशत मात्र राजश्व लिने गरी सरकारले निर्देशिका बनाई रजिष्ट्रशन गर्न सरकारले आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।

यसैगरी नेपालमा भारतीय नम्बर प्लेटका गाडी प्रवेश गर्दा गत आर्थिक वर्षमा भए अनुरुप कर लिने व्यवस्था गर्नेलगायतका सहमति भएको छ ।


  •  
  •  
  •