एमाओवादी मोर्चालाई रोक्ने कांग्रेस एमालेको आन्तरिक तयारी

111
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस) एकीकृत नेकपा माओवादीले बहुमतीय प्रक्रियाबाट संविधान बनाउन खोजे आन्दोलन गर्ने भन्दै मोर्चावन्दी गरेपछि सत्तारुढ दलले माओवादीलाई रोक्न आन्तरिक रणनीति बनाउन सुरु गरेका छन् । कांग्रेस एमालेसहित सत्तापक्षले ‘आफूहरुलाई क्षति नहुने गरी’ एमाओवादीे मोर्चाको आन्दोलनलाई रोक्ने र बहुमतीय प्रक्रियाबाट भएपनि संविधान जारी गर्ने गरि आन्तरिक तयारी सुरु गरेका हुन् ।

यसै विषयमा मंगलबार कांग्रेस र एमालेले सरकारलाई समर्थन गर्ने साना दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् । एमालेसँगको छलफलपछि राप्रपा नेता सूर्यबहादुर थापाले भने,‘संविधान निर्माण लगायतसँग जोडिएका विषय छन् यसै विषयमा साझा रणनीति बनाउन छलफल गरेका हौं ।’ कांग्रेस र एमालेलगायत सत्तारुढ दल दलले सकेसम्म सहमतिबाटै जाने नभए एमाओवादी मोर्चाको रणनीतिलाई असफल बनाएर जाने निष्कर्षमा पुगेका छन् । एमाले उपाध्यक्ष भिम रावलले भने,‘माघ ८ गते संविधान जारी गछौं भनेर हामी सबैले सर्वसहमतिले पारित गरेका हौं अब मुलुकलाई धेरै बन्धक बनाउन सकिदैन बहुमतीय प्रकृयामा गएर भएपनि तोकिएको समयमा संविधान जारी गर्नुपर्छ ।’

तनावको आकलन

एमाओवादी मोर्चाको तयारीपछि सत्तारुढ दलले संविधान निर्माण प्रकृयामा तनाव सिर्जना हुन सक्ने निष्कर्ष निकालेका छन् । सदन र सडकबाट आन्दोलन गर्नेभन्दै मोर्चावन्दीलाई कम नआँक्न भनेपपछि नेपाली कांग्रेस र नेकपा एमालेसहितका सत्तापक्षीय दल सतर्क भएका छन् । राप्रपा नेता सूर्यबहादुर थापाले भने,‘ जसरी मोर्चावन्दी गरिएको छ यसले अवश्य पनि तनाव सिर्जना गर्न सक्छ यसलाई रोकेर जान्छौँ र हामीहरुलाई घाटा नहुने गरि उहाँहरुलाई रोक्छौँ ।’

थापाले प्रकृयामा जान रोक्न हुँदैन भन्ने आफूहरुको दृष्टिकोण रहेको बताए । एमाले उपाध्यक्ष भिम रावलले माओवादीको मोर्चावन्दी र जातीय आधारमा राज्य पुनर्संरचना हुनुपर्छ भन्ने अडान नै संविधान निर्माणको मुख्य अवरोधक भएको टिप्पणी गरे । रावलले सकेसम्म सहमतिको प्रयास गर्ने नभए प्रकृयामा जाने बताए । उनले भने,‘ हामी पनि सकेसम्म संविधान निर्माण सहमतिमै होस भन्ने चाहन्छौँ तर भएन भने मुलुकलाई वन्धक राख्न सकिदैन सहमतिमा गएरै भएपनि संविधान जारी गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ एमाओवादी लगायतका दल सहमतिमा पनि आउन नखोज्ने र प्रकृयामा पनि जान नखोजेको भन्दै रावलले थपे,‘ उहाँहरु संविधान चाहनुहुन्छ वा अरु नै केही ?’

एकीकृत माओवादीले संवैधानि राजनीतिक संवाद तथा सहमति समितिमै मोर्चालाई कम नआँक्न चेतावनी दिएका थिए । उनले समितिमै चेतावनी दिदै भने,‘ यो मोर्चा माघ ८ गते नै संविधान जारी गर्नका लागि सकारात्मक वातावरण होस भन्नका लागि हो तर यसलाई कम आँके परिणाम राम्रो हुने छैन ।’ दिएको समयमा पनि संवैधानिक समितिले सहमति गर्न नसकेपछि फेरी म्याद थप गर्ने वा नगर्ने विषयमा दलहरु विभाजित भएका छन् । कांग्रेस एमाले प्रकृयामा गएर संविधान बनाउनुपर्ने पक्षमा छन् भने एकीकृत माओवादी लगायतका दल त्यसको विरोध गर्दै थप सहमतिका लागि समय थप्नुपर्ने माग गरेका छन् । यसै विषयमा सहमति जुटाउन दलहरु आन्तरिक छलफलमा लागिरहेका छन् ।


  •  
  •  
  •