संवाद समितिले सहमति गर्न सकेन

58
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफूले पाएको जिम्मेवारी पुरागर्न सकेन । मंगलावर सकेको समितिको बैठकमा पनि विवादित विषयमा सहमति नजुटेपछि प्रतिवेदन तयार पारेर संविधानसभामा पेश गर्ने निर्णय गरेको छ ।

यद्यपि सहमतिको अन्तिम प्रयास भन्दै आजै बेलुका पाँच बजे पुन बैठक बस्ने समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आज दिनभर आन्तरिक छलफल गर्ने, प्रमुख दलबीच पनि बैठक बसेर सहमतिको प्रयास गरिने छ । त्यसमा पनि सहमति नभए प्रतिवेदन तयार पारेर संविधानसभा पेश गर्ने भट्टराईले जानकारी दिए ।

‘छलफल गर्न विषयहरु बाँकी नै छन भनेर संविधानसभामा पेश गर्ने छौं, उनले भने,‘संविधानसभाले जे निर्देशन दिन्छ त्यही अनुसार काम गर्छौ ।’ संविधानसभाले पारित गरेको कार्यतालिका अनुसार संवाद समितिले २१ भदौ भित्र संविधानका विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने थियो । सो समयभित्र समितिले सहमति गर्न नसकेपछि संविधानसभाले असोज १४ गतेसम्मको समय दिएको थियो ।

सो समयभित्र पनि सहमति गर्न समिति असफल भएपनि आजसम्मको समय दिइएको थियो । दलहरुबीच संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालि तथा न्यायप्रणालिलगायतका विषयमा विवाद कायम छ । सत्तापक्षले भने विवादित विषयमा सहमति नजुटे प्रक्रियामा जानुपर्ने बताएका छन भने एमाओवादीलगायतका विपक्ष दलले भने सहमतिबाटै संविधान जारी गर्नु पर्ने बताएका छन् ।


  •  
  •  
  •