तरकारीभन्दा मासु सस्तो

60
  •  
  •  
  •  

काठमाडौं ३ असोज ।
झापामा ब्रोइलर कुखुराको मासु तरकारीभन्दा सस्तो भएको छ । डेढ सय रुपैयाँमा एक छाक तरकारी पाउन गाह्रो छ । तर, व्रोइलर कुखुराको मासुचाहिँ पाइन्छ । ब्रोइलर कुखुरा उत्पादक गर्ने कृषकले व्यवसायीलाई मासु नदिएर आफै बेच्न थालेपछि मासु सस्तिएको हो । प्रतिकिलो २ सय रुपैयामा कृषकले मासु वेच्न थालेपछि व्यवसायीले पनि कृषक भन्दा ५० रुपैया सस्तो मूल्यमा मासु दिन थालेका छन् ।

केही दिनअघि उपभोक्ताले प्रतिकिलो ३ सय रुपैया तिर्नुपथ्र्यो । दशैको मौका छोपेर व्यवसायीले भाउ बढाउन लाग्दा कृषकले सस्तोमा बेच्न थालेपछि व्यवसायीले ५० रुपैया सस्तोमा मासु उपलव्ध गराउन थालेका हुन् । ‘तरकारीभन्दा मासु सस्तो भएको छ’, उपभोक्ता डिल्ली अधिकारीले भने ।’

कृषकहरुले आइतबारदेखि दशैंलाई लक्षित गरी काँकडभिट्टामा स्टल राखेरै सस्तो मूल्यमा मासु विक्री वितरण थालेका छन् । जसले कृषक र व्यवसायीवीच कसले कम मूल्यमा मासु वेच्ने भन्ने प्रतिष्पर्धा चलेको छ । ‘कृषक र व्यवसायीको हानथापले उपभोक्तालाई फाइदा पुग्यो’, स्थानीय उपभोक्ता युवराज दाहाल भन्छन् ।

यसअघि विचौलियाका कारण उपभोक्ताले बढी मूल्य तिरेर मासु किन्न वाध्य थिए । विचौलियाले कृषकवाट सस्तोमा कुखुरा खरिद गरी महंगोमा व्यवसायीलाई वेच्दा उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने वाध्यता थियो । उपभोक्ता मञ्च झापाका उपाध्यक्ष अमृतलाल श्रेष्ठले मासुको मूल्य घटेर उपभोक्तालाई सहुलियत भएको बताए । उनले सस्तोको नाममा गुणस्तरहीन र अस्वस्थकर मासु हो होइन भन्ने वारे उपभोक्ता आफै सचेत रहनु पर्ने जनाए । ‘सस्तोका नाममा अस्वस्थकर मासु पनि विक्री भएको हुनसक्छ’, श्रेष्ठले भने, ‘यसप्रति सचेत वनौ ।’

उपभोक्ता हकमा कार्यरत संस्थाहरुले भारतवाट तस्करी गरी ल्याइएका कुखुरा भएका कारणले पनि कम मूल्यमा विक्री गर्न सक्ने सम्भावना रहेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन् । मेची पुल तर्ने वित्तिकै सस्तोमा ब्रोइलर कुखुरा उपलव्ध छ । जुन नेपालमा ल्याएर विक्री गर्दा दोव्वर फाइदा हुन्छ । कृषक कुन्दन निरौलाले कृषकवाट जिउदो कुखुरा प्रति केजी १ सय ५० रुपैयामा किनेर ब्यबसायीले बजारमा ३ सय रुपैयामा तयारी मासु बेच्ने गरेका कारण उपभोक्ता मारमा परेको जनाए ।
कान्तिपुरबाट


  •  
  •  
  •