‘समयचक्र’

148
  •  
  •  
  •  

लाग्थ्यो
आमा हुनु
पुर्ण आइमाई हुनु हो,
तिमी थियौँ र नै
त्यही क्षण त्यही पल
एउटा सुखद् अनुभूति भोगेथेँ
आमा हुनुको
पूर्ण नारी हुनुको।

आमाको अनुहारमा निर्दोष आँखाले हेरेर
काखमा घुटुघुटु स्नेह पिउँदै गरेको,
मुटुका टुक्राको ढुकढुकीसँगै
आफु बाँचिदिन्थे
तीनका खुशी भित्रै भेट्थेँ आफुलाई
दुःख थियो तर मधुरो तृप्ति पनि थियो।

समयले पर्दा फेरेछ सायद
थाहा थिएन, कुनै दिन
तिमीले नै मलाई दुखाउँछौँ भनेर
हृदयभरी खुशी भरिदिनेले
किस्ता किस्तामा जिन्दगी दुखाउँछ भनेर।

अनायासै
हृदयको खुशी कसैले फिर्ता लगेको छ
जिन्दगी दुखेको छ बेस्सरी
मानौं हृदयका पत्रपत्रहरू च्यातेर
कसैले एक एक गरी उप्काउँदैछ
निजी सपनाहरू पराई हुँदै
टाढाटाढा
पुराना मधुर स्मृतिसँग
शायद ! सम्बन्ध विच्छेद गर्दैछन्।

आज
चिथोरेको छ, आफ्नै मृत चाहनाले,
जसमा बाँचिरहने जिजीविषा छैनन्,
सायद लिँदैनन् पुनर्जन्म तीनले,
जतिसुकै इच्छाका खातको सिरानी लाएपनि,
बाँच्नु छ यस शरीरले
सहानुभूतिका हिसाबकिताब जोड घटाउ गरेर
भोग्दैछ शरीर श्रध्दाञ्जली दिने हातका औँलाहरू गनेर
किनकि
बाँचुन्जेल कसरी बाँच्दैछस् भनी नसोध्नेहरू
मृत्युको खबरपछि,
कसरी मरी भनी ब्याख्यान छाँट्नेछन्
भेट हुँदा मुख बटार्नेहरू
कात्रो हटाइ मुख हेर्न हतारिनेछन्
अवीरहरू, मालाहरू, अगरवत्तीहरू
र सायद झण्डाहरू
अट्टहास गर्नेछन्,त्यतिबेला
तर पनि
म उही पुरानो सुखानुभूतिमा
बाँचिरहने छु,
एउटा अमर कथा बनेर ।


  •  
  •  
  •