गर्भपतनका औषधि जथाभावी

195
  •  
  •  
  •  

काठमाडौं ६ जेठ।
गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसूति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलेले दिएका भरमा त्यो औषधि खाएकी थिइन् ।

‘मिफेप्रिस्टोन’, ‘मिजोप्रोस्टोल’ लगायत औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरूमा उनी एक्ली होइनन् । प्रसूति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक–दुई जना पुग्ने गरेका छन् ।

‘यी चक्कीले चिकित्सकीय सहयोगमा ६३ दिनसम्मको गर्भपतन गर्न मिल्छ । तर, आफूखुसी प्रयोग गरेर वा त्यसभन्दा बढी समयको गर्भमा खाएर पाठेघर फुटाएकाहरूसमेत हामीकहाँ आउँछन्,’ प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘गर्भपतनको चक्कीलाई पारासिटामोलजत्तिकै सामान्य ठान्ने क्रम बढेको छ ।’

गौतम सकेसम्म गर्भपतन नगराउन सल्लाह दिन्छन् । ‘औषधि वा औजार प्रयोग गरेर गरिने गर्भपतनमा कुनै न कुनै समस्या वा खतराको सम्भावना हुन्छ,’ उनले भने । पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिशत गर्भ बिनायोजना रहने गरेको छ ।

परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमका अनुसार मुलुकमा बर्सेनि करिब ६ लाख गर्भवती हुने गरेकामा १० प्रतिशतसम्म गर्भपतन हुने गरेको छ । असुरक्षित गर्भपतनको परिणामस्वरूप पाठेघर झिक्नुपर्ने अवस्थामा पुगेकी ती महिलाले भनिन्, ‘मितिनीले चक्की खाए गर्भपतन हुने भनिन्, पसले दाइलाई सोध्दा त्यही भनेर औषधि दिए, खाएपछि यो हाल भयो ।’

विशेषज्ञहरूका अनुसार नीति, नियम, अनुगमन लगायतको कमीले यो चक्कीको देशैभरि दुरुपयोग भइरहेको छ । यो बिनाचिकित्सकीय पुर्जा बिक्री वितरण गर्ने औषधि नरहेको उल्लेख गर्दै डा.गौतमले भने । सरकारी प्रावधानअनुसार यस्ता औषधि बिक्री, वितरण र आपूर्ति गर्न औषधि व्यवस्था विभागबाट इजाजतप्राप्त थोक बिक्रेतालाई सूचीकरण गर्नुपर्छ ।

सूचीकृत बिक्रेताले गर्भपतन सेवा प्रदान गर्ने अनुमति पाएका स्वास्थ्य संस्थाको इजाजत प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि बिक्री वितरण गर्न पाउने नियम छ ।

हालसम्म विभागले दुई नेपाली र दुई विदेशी कम्पनीको औषधिलाई दर्ता गरेको छ । यसअन्तर्गत मिडावोन, एमटिपी किट, मारिप्रिस्ट र प्रेग्नो किट छन् । डा.झलकका अनुसार सरकारी स्वास्थ्य निकायमा सुरक्षित गर्भपतन सेवाका लागि यिनै औषधि पठाइन्छ । दर्ता नगरिएका अन्य औषधि उपलब्ध हुनु गैरकानुनी हो ।

विभागका महानिर्देशक बालकृष्ण खकुरेलले यस्ता औषधि बिक्री अव्यवस्थित देखिएको बताए । ‘यो जथाभावी बेच्न छुट दिइएको औषधि नै होइन,’ उनले भने ।

दुरुपयोग रोक्न मुलुकभरिका औषधि पसलमा कडा अनुगमन गर्नुपर्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. अरुणा कार्कीले औंल्याइन् । यस्ता चक्की सेवनपछि बढी रक्तश्राव हुन सक्छ भने टाउको दुख्ने र वाकवाकी लाग्ने गर्छ । कान्तिपुरबाट

कानुनमा के छ ?

 

  • गर्भपतनको चक्की डाक्टरको सिफारिसबिना बेचे ५ वर्ष कैद
  •     १२ सातासम्मको गर्भलाई पतन गर्न सकिन्छ
  •     बलजफ्ती वा हाडनाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भलाई पतन गर्न सकिन्छ
  •     गर्भपतन नगराए महिलाको ज्यानमा, शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकबाट जुनसुकै अवधिको गर्भपतन गराउन सकिन्छ

 


  •  
  •  
  •