काठमाडौँ । निजी मेडिकल कलेजहरुले अतिरिक्त शुल्कका नाममा असुलेको अवैध रकमबारे छानबिन गर्न चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको छ । पाँच सदस्यीय कार्यदलमा आयोगका योजना निर्देशनालयका प्रमुख संयोजक रहेको आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । अरु सदस्यहरुको नाम सार्वजनिक गरिएको छैन ।
यसअघि सरकारसँग सहमति हुँदा शुल्क छानबिन गर्न आयोगले कार्यदल बनाउने उल्लेख गरिएको थियो ।
कलेजहरुले जथाभावी शुल्क असुली विद्यार्थीमाथि ज्यादती गरेको भन्दै सर्वत्र विरोध भएपछि सरकारले ठगी मुद्दामा कारवाही चलाउने चेतावनी दिएको थियो । सरकारले कारवाही नगरी सहमतिका नाममा कलेज सञ्चालकहरुकै संरक्षणमा उधारो सहमति गरेको भन्दै विद्यार्थीहरु थप आन्दोलित छन् ।
एमबीबीएस, बीडीएस लगायत चिकित्सा शिक्षाका कार्यक्रमहरुको वार्षिक परीक्षा समेत विद्यार्थीहरुले बहिष्कार गरेका छन् । चितवन, वीरगञ्ज, पोखरा र भैरहवामा भएका कलेजका विद्यार्थीहरुले आज ठाउँठाउँमा प्रदर्शन गरेका थिए । केही प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।