सञ्चार उद्यमी आन्दोलनमा

55
  •  
  •  
  •  

काठमाडौं,भदौ ७ (ओएनएस) ः जनताको सुसुचित हुन पाउने अधिकार कुण्डित गरेर सञ्चारमाध्यम  सञ्चालनमा अवरोध गरिएको भन्दै सञ्चार उद्यमीहरुले आन्दोलनमा उत्रिएका छन् । चर्को ऊर्जा सङ्कट, अब्यवहारिक सञ्चार नीतिनियम तथा मजदुर समस्याले सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकोले आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन् ।

विगत केही दिनयता कान्तिपुर पब्लिकेशनको प्रकाशन वितरणमा अबरोध गर्दै मजदुर विरोधमा उत्रिएपछि ‘मेन स्ट्रिम’का सञ्चार उद्यमी एक भएका हुन् । सञ्चारमाध्यम स्वतन्त्र रूपमा सञ्चालन हुन पाउने अधिकारलाइ कुल्चदै राजनीतिक दलका भातृसङ्गठनहरूबाट अवरोध सिर्जना गर्दा राज्य मुकदर्शक बनेको भन्दै उनीहरूले माग पुरा नभए प्रकाशन–प्रसारण बन्द गर्नेसम्मको चेतावनीसमेत दिएका छन् ।

सञ्चारसम्वन्धि  अव्यवहारिक ऐन–नियम, चर्को ऊर्जा सङ्कट, महङ्गीजस्ता समस्याले आक्रान्त बनिरहेका सञ्चार उद्योगमा मजदुर सङ्गठनका नाममा हुने अबरोधबाट श्रमजिवी पत्रकार, कामदार र सञ्चालकको आम्दानीमा प्रतिकुल असर परेको उनिहरुको आरोप छ ।

पटकपटक सरकार, राजनीतिक दल र सङ्गठनसँग छलफल गर्दा पनि आफ्ना माग सुनुवाइ नभएकोले आन्दोलनमा उत्रिनुपरेको  नेपाल मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहियाले बताए ।

सो अवसरमा टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टीबीएन)का अध्यक्ष आरके मानन्धरले सत्ता बाहिर रहँदा सञ्चारमाध्यमलाई आफ्नो पक्षमा उपयोग गर्न खोज्ने र सत्तामा पुगेपछि शत्रु ठान्ने प्रवृत्तिले समस्या उत्पन्न गरिरहेको बताए । शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

यसैबीच, उद्यमीहरूले सञ्चार उद्योगलाई विशेष सेवा उद्योगका रूपमा परिभाषित गर्दै आवश्यक संरक्षण गर्नसमेत माग गरेका छन् । कार्यक्रममार्फत १० बुँदे माग सार्वजनिक गर्दै उनीहरूले सञ्चारमाध्यमका लागि आवश्यक कागजको मूल्य मिडिया हाउसले धान्नै नसक्ने गरी बढेको भन्दै कागज खरीद गर्दा सरकारले लगाउँदै आएको आयात शुल्क खारेज गर्नुपर्ने बताएका छन् ।

सञ्चारमाध्यममा प्रयोग हुने आवश्यक मेसिनरी पार्टपूर्जा, उपकरण र सवारी साधनको आयातमा लाग्दै आएको भन्सार महसुल एक प्रतिशत कायम हुनुपर्ने पर्ने उनीहरूको भनाइ छ ।
सरकारले विद्युतीय सञ्चारमाध्यममा रोयल्टी शुल्कवापत लिँदै आएको दुई प्रतिशत दस्तुरले खुद लागत बढाएको भन्दै उद्यमीहरूले सो शुल्क तिर्न नसक्ने घोषणासमेत गरेका छन् ।


  •  
  •  
  •