काठमाडौं, ८ जेठ(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिन् ।
भुसालले विधेयक लोकतन्त्र नचिन्नेले ल्याएको बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरणमा प्रवेश गराउने गरी आएको विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको उनको आरोप छ ।