म्याकुलमले बक्सिंग डे मा बनाए क्रिकेटमा नयाँ किर्तीमान

301
  •  
  •  
  •  

brendon-mcculluकाठमाडौ, ११ पुस(एजेन्सी) : न्युजिल्याण्डका कप्तान ब्राण्डन म्याकुलमले बक्सिङ्ग डे(क्रिसमसको भोलिपल्ट) क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् । श्रीलंकाविरूद्ध भइरहेको टेष्ट क्रिकेटमा पहिलो दिन उनले मात्र ७४ बलमा शतक प्रहार गर्दै बक्सिङग डे टेष्टमा तिव्र शतक प्रहार गर्ने वर्ल्ड रेकर्ड कायम गरेका हुन् । उनले यो वर्ष १ हजार रन पनि पूरा गरेका छन् । एक वर्षमा १ हजार रन जोड्ने न्युजिल्याण्डका पहिलो ब्याटस्म्यान हुन् ।

म्याकुलमसँग टेष्ट क्रिकेटमा सबैभन्दा तिव्र गतिमा दोहोरो शतक प्रहार गर्ने मौका थियो । तर, उनी मात्र ५ रनले चुकेका छन् । म्याकुलम थारिंडु कौशलले करूणारत्नेको हातबाट क्याच गराएर उनको किर्तिमान कायम गर्न सक्ने सम्भावना तोडिदिएका थिए । म्याकुलमले १ सय ३४ बलमा १८ चौका र ११ छक्का प्रहार गर्दै १ सय ९५ रन जोडेका थिए । उनले आउट हुनुभन्दा अगाडि पाँचौ विकेटका लागि जेम्स नीशामसँग १ सय ५३ रन जोडेका थिए ।

टेष्टमा पास्टेष्ट दोहोरो शतकको वर्ल्ड रेकर्ड अहिले पनि न्युजिल्याण्डका नाथन एस्टलको नाम रहेको छ । उनले सन् २००२ मा बेलायतविरूद्ध मात्र १ सय ५३ बलमा दोहोरो शतक प्रहार गरेका थिए । एस्टलले १ सय ६८ बलमा २८ चौका र ११ छक्का प्रहार गर्दै २ सय २२ रन जोडेका थिए ।

म्याकुलमले सबैभन्दा कम मिनेटमा दोहोरो शतक बनाउने मौका पनि गुमाएका छन् । उनले १ सय ९५ रन मात्र २ सय २ मिनेटमा बनाएका थिए । सबैभन्दा कम समयमा दोहोरो शतक प्रहार गर्ने वर्ल्ड रेकर्ड सर डन ब्राडम्यानको नाममा छ । उनले २ सय १४ मिनेटमा बेलायत विरूद्ध सन् १९३० मा दोहोरो शतक बनाएका थिए ।

म्याकुलमले यो वर्ष खेलेको ९ टेष्टको १६ पारीमा ७२.७५ को औसतमा १ हजार १ सय ६४ रन जोडेका छन् । जसमा ४ शतक पनि रहेका छन् । उनको सर्वाधिक स्कोर ३ सय २ रहेको छ ।


  •  
  •  
  •