नेपालबाट एमबीबीएस गरेका एक चौथाइ फेल

148
  •  
  •  
  •  

काठमाडौं ३० चैत ।
मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपालबाटै एमबीबीएस गरेका डाक्टरमध्ये एक चौथाइ फेल भएका छन् । काउन्सिलका अनुसार मुलुकका १५ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ हजार ३७ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ७ सय ८४ मात्र पास भएका छन् भने २ सय ५३ फेल भए । मुलुकबाटै एमबीबीएस गरेका कुल विद्यार्थीमध्ये २४ दशमलव ४ प्रतिशत फेल भएका हुन् ।

‘स्वदेश वा विदेश जुनसुकै ठाउँमा डाक्टरी पढ्ने नेपाली विद्यार्थीको आधार पैसा नभएर मेरिट लिस्ट हुनुपर्ने पुष्टि यो नतिजाले गरेको छ,’ काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले भने, ‘मेडिकल पढ्न मेरिट लिस्टलाई नै अझ बलियो आधार बनाउनुपर्नेतर्फ सबैले सोच्नुपर्छ ।’

केही वर्षयता एमबीबीएस अध्ययनका लागि सहज गन्तव्य बनेको बंगलादेशको स्थिति भने झन् बेहाल छ । बंगलादेशबाट एमबीबीएस गरेका आधा विद्यार्थी लाइसेन्स परीक्षामा फेल भएका छन् । बंगलादेशका २७ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ९३ डाक्टर लाइसेन्स परीक्षामा सहभागी भएकामा ९३ जना फेल र १ सय जना पास भए । बंगलादेशबाट एमबीबीएस गरेका ४७ दशमलव २ प्रतिशत फेल भएका हुन् । ५१ दशमलव ८ प्रतिशत सहभागी मात्र लाइसेन्स हासिल गर्न सफल भए ।

पछिल्ला वर्षमा चीनको निजी मेडिकल कलेजबाट एमबीबीएस गरेकाहरूको लाइसेन्स परीक्षामा देखिने निराशाजनक नतिजाको अवस्था यस पटक पनि कायम रह्यो । यस पटक चीनका २२ मेडिकल कलेजबाट एमबीबीएस गरेका १ सय ३३ डाक्टरले लाइसेन्स परीक्षा दिएकामा ४३ जना पास हुन सके भने ९० जना फेल भए । चीनबाट एमबीबीएस पास गरेर परीक्षा दिनेमध्ये करिब ६८ प्रतिशत फेल भएका हुन् ।

भारतका ३ मेडिकल कलेजबाट पढेर आएका ४ विद्यार्थीमध्ये एक जना र पाकिस्तानका ३ मेडिकल कलेजबाट पढेका ७ मध्ये ५ जना फेल भएका छन् ।

यस्तै रुसमा पढेका ७ विद्यार्थीमध्ये ४, युक्रेनका ६ मध्ये ४, फिलिपिन्सका ७ मध्ये ४, किर्गिस्तानका ४ मध्ये ३ फेल भएका छन् । आइसल्यान्डबाट एमबीबीएस गरेका एकजना लाइसेन्स परीक्षामा सहभागी भएकामा सफल हुन सकेनन् ।

यस्तै दन्त चिकित्साअन्तर्गत बीडीएस गरेका बंगलादेशका २४ विद्यार्थीमध्ये ९, भारतका २५ मध्ये १७, नेपालका ६६ मध्ये १ फेल भएका छन् । पाकिस्तानबाट बीडीएस गरेका एकजना सहभागी भएकामा उनी पनि सफल हुन सकेनन् ।
कान्तिपुरबाट


  •  
  •  
  •