काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहितका बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।
बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूर्वी क्षेत्रमा हल्का वर्षा हुने जनाइएको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जनाइएको छ ।
बुधबार राति पनि देशभरको मौसम बदली भई पश्चिमका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।
हेर्नुहोस् तीन दिनको मौसमपूर्वानुमान
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०९-२३, बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशका पश्चिमी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २३ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। पूर्वी भू-भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
पौष २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
पौष २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका केहि स्थानहरूमा वर्षा/हिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन सबैमा अनुरोध छ |