यसकारण बढ्यो जाडो अझै कति रहँला ?

190
  •  
  •  
  •  

काठमाडौं २८ पुस ।
नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायुप्रणाली पाँचपटकसम्म नेपाल प्रवेश गर्न खोज्यो।   पश्चिमबाट पूर्वतिर सर्ने यो प्रणालीले नेपालभित्रै विकास भएको स्थानीय वायु धकेल्न नसक्दा वर्षा गराउने वायुप्रणाली उतै फर्किरहेको छ।शनिबारदेखि पुनः नेपालको पश्चिम पहाडी क्षेत्रमा स्थानीय र त्यस्तै पश्चिमी वायुप्रणाली छ। तर त्यो यसपटक पनि सक्रिय हुनसकेको छैन।
‘पश्चिमी वायु नेपालतिर आउन खोज्छ तर आउनै सकेको छैन’, मौसमविद् मीनकुमार अर्यालले भने, ‘बादलले आकाश ढाकेको छ। उताको सिस्टम आउन नसक्दा हिउँदयाम लागेपछि पानी पर्न सकेको छैन।’

सामान्यतया यो बेलासम्ममा तीनचारपटक वर्षा भइसक्नुपर्ने थियो। स्थानीय रूपमा विकास भएको बादललाई पश्चिमी वायुले धकेल्न नसक्नु अहिलेको मुख्य समस्या रहेको मौसमविद्ले बताए। उनीहरू यसलाई ‘जेट स्ट्रिम’ भन्छन्।

मौसमविद् अर्यालका अनुसार पश्चिमतर्फबाट आएको हावाको मुस्लो पृथ्वीको सतहदेखि १४ देखि १६ किमिमाथि उत्तरदक्षिण गरिरहेको हुन्छ। यही हावाले स्थानीय रूपमा विकास भएको बादललाई धकेल्छ र पानी पर्छ । अहिले यो बादल दक्षिणमा छ। ‘अहिले मौसम बिग्रनुको कारण त्यही जेट स्ट्रिम हो’, अर्यालले भने।

मौसम प्रक्षेपण केन्द्रहरूले पानी पर्ने सम्भावना देखाए पनि क्रमशः यो सम्भावना घट्दै गएको अनुभव उनले सुनाए।स्थानीय बादल नधकेलिँदा मौसममा आएको गडबडीले बढाएको चिसो अझै केही दिन कायम रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालको मध्य र पूर्वी भागमा स्थानीय मौसमप्रणाली विकास भएकाले हिउँ पर्ने सम्भावना झन् बढेको छ। ‘अझै केही दिन यसरी नै धुम्मिने र चिसो बढ्ने देखिन्छ’, महाशाखाको मौसमी विवरणमा उल्लेख छ।

भूकम्प प्रभावित जिल्लामा समेत हिउँ पर्ने सम्भावना रहिरहने महाशाखाले जनाएको छ। ‘पहाडी र उच्च हिमाली भेगमा अझै हिउँ पर्ने देखिन्छ’, विमानस्थलस्थित पूर्वानुमान महाशाखाका मौसमविद् अर्यालले भने।

मौसमविद्हरूले विश्वभरको मौसममा देखिएको यो परिवर्तनलाई एलनिनो प्रभाव भनेका छन् । यो प्रभावले दक्षिणएसियासहितका भूभागमा कम पानी पर्छ । दक्षिणएसियाको मौसममा देखिएको फेरबदललाई मौसम अनुगमन तथा अध्ययन केन्द्रहरूले एलिनोको प्रभाव भएको जनाइरहेका छन्।

महाशाखाले प्रेसर टेन्डेन्सी घटिरहेका कारण चिसो भने अझै हुने जनाएको छ। पश्चिमी वायुको सुरुआत युरोप महादेशबाट हुन्छ । यो वायु पश्चिमबाट पूर्वतिर बहने क्रममा मेडिटरेनियन, ब्ल्याक र क्यास्पियन सागरको बाटो हुँदै एसिया महादेशतिर आउँछ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार ती सागरबाट जलवाष्पको आपूर्ति भई वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्छ र मौसम बदली हुन्छ। युरोपबाट एसिया महादेशका विभिन्न भाग टर्की, सिरिया, इराक, इरान र यससँग जोडिएका अन्य भूभाग हुँदै यो वायु दक्षिणएसियाको अफगानिस्तान, उत्तरपाकिस्तान र भारतको उत्तरपश्चिम भेग हुँदै नेपाल प्रवेश गर्छ र बंगलादेशतर्फ जान्छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •