चक्रवातको प्रभावः चुनावका दिन सातै प्रदेशमा वर्षाको सम्भावना

111
  •  
  •  
  •  

काठमाडौं । स्थानीय तहको निर्वाचनका दिन वैशाख ३० गते पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले ‘स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरी मतदानका दिन सातै प्रदेश वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। साथै, दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’ विकास भएको छ। उक्त प्रणाली उत्तरपश्चिम भारततर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिएको छ। उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना छ।

जसका कारण चुनावका बेला वैशाख २८ बुधबारदेखि वैशाख ३१ गते शनिबारसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ वैशाख ३१ गतेसम्मको मौसम अनुमान
२०७९ वैशाख २८ गते बुधबार: देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा  मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशका  थोरै स्थानमा मेघगर्जनर चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २९ गते बिहीबारः देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ। साथै तराईमा हावाहुरीको सम्भावना पनि छऽ

वैशाख ३० गते शुक्रबारः देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ३१ गते शनिबारः देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाले सचेत गराउँदै भनेको छः यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध  छ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गर्ने उल्लेख गरिएको छ।

 


  •  
  •  
  •