अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने

96
  •  
  •  
  •  


काठमाडौं । अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ ।  यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन् ।

यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने मौसमविदको अनुमान छ । भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ ।

केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण २ जनाको मृत्युसमेत भइसकेको छ । २ हजार मानिस विस्थापित भएका छन् । केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन् ।

भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ ।

यसैबीच अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

मौसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै ‘तौ ते’ नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एकरदुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए ।


  •  
  •  
  •