माटोबाट ‘मान्छे’ बनाउने कला

780
  •  
  •  
  •  

सानुभाई, २४ माघ (ओएनएस) : भन्छन् मान्छेले कुनै न कुनै कला जन्मदै साथमा लिएर आएको हुन्छ । आफुसँग भएको खुबी सबैले पहिचान गर्न सक्दैनन् पनि । कसैले पहिचान गर्छन्, त्यसलाई निखार्छन् र आफु सफल बनेर देखाउँछन् पनि ।

त्यस्तै व्यक्ति मध्येका एक हुन् ललितपुर उपमहानगरपालिका वडा नम्बर ८ लोंलका राजकुमार महर्जन । उनी ४ वर्षदेखि व्यबसायिक रुपमैं माटोबाट मानवमुर्ति बनाउँदैछन् । शनिबार उनी पूर्व प्रहरी महानिरीक्षक तथा मन्त्री डी.बी. लामाको अर्धकदको मुर्ति बनाउँदै थिए । दुई दिन मुर्तिका लागि खर्च गरिसकेका उनलाई यो मुर्ति तयार गर्न अब १३ दिन लाग्नेछ ।

“सेरामिक माटो प्रयोग गरेर मुर्ति बनाउँछु” ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक उत्तिर्ण राजकुमार महर्जन भन्छन्, “सैनिक पोशाक, मेडल, तक्मा, फुली पनि बनाउनुपर्छ । अहिले त सामान्य आकार मात्रै दिएको छु १५ दिनमा मुर्ति तयार हुन्छ ।”

माटोबाट मुर्ति बनाउने कलाकार धेरै छैनन् औंलाले गन्न सकिन्छ । सानैदेखि चित्रकलामा रुची भएका महर्जन चित्रकला विषयमा स्नातक पढ्दै गर्दा ज्यापु समाज यल (ललितपुर) ले दिएको मुर्तिकला सम्बन्धीको छ महिने तालिममा सहभागी भए । “चित्रकलालाई अहिले पनि निरन्तरता दिइरहेको छु ।” उनी भन्छन्, “मुर्तिकलाका लागि पनि चित्रकला आवश्यक छ । पहिलो मुर्ति मैंले मेरा सहायक गुरु नारायण बहादुर महर्जनको बनाएँ । सबैको हौसलाका कारण म चित्रकलामा भन्दा मुर्तिकलामा बढी सक्रिय छु ।”

उनले विभिन्न ठाउँमा हुने मेला तथा प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । प्रदर्शनीका बेलामा अहिलेसम्म पचास भन्दा बढी प्रत्येक्ष मानव मुर्ति (मानिसलाई हुर्दै मुर्ति बनाउँदै) बनाईसकेको उनी बताउँछन् । “ललितपुर उपमहानगरपालिका वडा नम्बर ९ भोलढोकामा भगवान बुद्धको २८ फिट अग्लो मुर्ति बनाएको छु ।” कलाकार महर्जन भन्छन्, “अरु ४ जना सहयोगीका साथमा बनाएको मुर्तिको पारश्रमिक हामीले डेढ लाख रुपैंयाँ पाएका थियौं ।”

Mato ko Murti 2पूर्व प्रहरी महानिरीक्षक तथा मन्त्री डी.बी. लामाको अर्धकदको मुर्ति तयार भएपछि उनले ८० हजार रुपैंयाँ पाउँछन् । “सेरामिक माटो, फाइबर, रेजिन (एक प्रकारको रसायन), रबर, ह्वाइट सिमेन्ट (प्लाष्टर पेरिज), फलाम, काठ लगायतका सामाग्री आफैंले किन्न पर्छ ।” उनी भन्छन्, “सबै खर्च कटाएर मलाई १५ देखि २० हजार रुपैंयाँसम्म बचत हुन्छ ।”

माटोबाट कसरी मुर्ति बन्छ त भन्ने जिज्ञासामा उनी भन्छन्, “माटोबाट मात्रै बनाउने मुर्ति गह्रौं हुन्छ र फुट्छ पनि । पहिला फलाम वा काठबाट मानिसको अर्धकदको नमुना (फ्रेम) बनाइन्छ । त्यसपछि मुछेको माटोबाट मानव आकृती बनाउँछौं । फुट्न नदिन कपडाको धुलो प्रयोग गर्छौं ।” मुर्ति बनाउनका लागि माटोको अभाव हुने गरेको कलाकार राजकुमार कहर्जनको अनुभव छ । “पहिले ललितपुरकै हरिसिद्धिबाट गठे (नेवारी नाम) माटो ल्याएर मुर्ति बनाइन्थ्यो । त्यो माटो ल्याएर सिधैं मुर्ति बनाउन सकिन्थ्यो ।” उनी थप्छन्, “अहिले प्लटिङ गरेका कारण माटो झिक्ने ठाउँ नैं छैन । भक्तपुरबाट सेरामिक माटो ल्याउँदा एक किलोको ३० रुपैंयाँ पर्छ । सरकारी तवरबाटै यस्तो माटो पाइने ठाउँको संरक्षण भैदिए हुन्थ्यो ।”

चार वर्षमा एक सयभन्दा बढी मुर्ति बनाएका महर्जनको चर्चा खासै भएको छैन । कलाकारको भन्दा लगानीकर्ता अथवा मुर्ति बनाउन लगाउने व्यक्तिको मात्रै चर्चा भएका कारण कलाकार ओझेलमा परको उनको गुनासो छ । “पाटनको कृष्णमन्दिर, बुढानिलकण्ठका नागमाथि सुतिरहेका नारायण, पलाञ्चोक भगवतीको मुर्ति कसले बनाए भनेर चर्चा भएको सुन्नु भएको छ ?” केहि आक्रोसित मुद्रामा उनले भने, “त्यतिबेलाका राजा महाराजा जसले बनाउन लगायो उसैको नाम प्रचार प्रसार भैरहेको छ । हामी कलाकार सधैं पछाडी ।”

Mato ko Murti 3कला र कलाकारको उचित सम्मान तथा कदर नभएको उनको अनुभव छ । “नेपालमा मान्छे मरिसकेपछि मात्रै उसको गुनगान गाइन्छ । जिउँदो छँदै सम्मान गरे पो उसले पनि अनुभुती गर्न पाउँछ ।” उनी थप्छन्, “जीवित छँदै कलाकारको सम्मान गर्नुपर्छ भनेर मैंले हाम्रो अभियान श्रष्टा सम्मान भन्ने नाराका साथ जीवित छँदै मानवमुर्ति बनाएर सम्मान गर्ने अभियान थालें । बरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठ र शताव्दि पुरुष सत्यमोहन जोशीको प्रत्येक्ष मानवमुर्ति बनाएर सम्मान पनि गरियो । आर्थिक अभावका कारण अहिले त्यो अभियानलाई अगाडी बढाउन सकिएको छैन ।”

कलाकारले राज्यका तर्फबाट आवश्यक सहयोग, हौसला र सम्मान पाउन नसकेको महर्जन बताउँछन् । कलाकारहरु नैराश्यताको सिकार हुनु परेको उनको अनुभव छ । “मल्लकाल तथा लिच्छवीकालमा राम्रो काम गर्ने कलाकारको काम सकिएपछि हात काटिन्थ्यो अरे । अहिले त्यहि अवस्था त छैन ।” उनी भन्छन्, “बाटो छेकिदने तर अगाडी बढ भन्ने परम्परा अझै कायम छ । कलाकारलाई हौसला प्रदान गर्ने खालको वातावरण बनोस् ।”

२ लाख रुपैंयाँको लगानीबाट व्यबसाय सुरु गरेका महर्जन व्यबसाय बिस्तार गर्न चाहन्छन् । तर आर्थिक अभावका कारण पुरा हुन सकेको छैन । “लगानी बढाउन पाए अरु केहि युवा साथीहरुलाई रोजगारी पन दिन सकिन्थ्यो तर आर्थिक अभाव छ । बैंकहरुले लिने व्याजदर महङ्गो भएका कारण हामीजस्तो साना व्यबसायीका लागि समस्या छ ।” उनी भन्छन्, “सरकारले कलाकारका लागि सहुलियत दरमा ऋण उपलब्ध हुने व्यबस्था मिलाइदिए हुन्थ्यो ।”

सहज तथा सहुलियत रुपमा कच्चापदार्थ उपलब्ध होस् भन्ने चाहना सबै मुर्तिकारको छ । मुर्तिका लागि आवश्यक कच्चापदार्थ अर्थात माटो पाइने ठाउँको संरक्षण होस् र मुर्तिकार तथा मुर्तिकला युगौं युगसम्म बाँचिरहोस् भन्ने चाहना कलाकार राजकुमार महर्जनले राखेका छन् ।


  •  
  •  
  •