निर्वाचन आयोगले किन गरेन बदर मत सार्वजनिक

272
  •  
  •  
  •  

काठमाडौँ, १० चैत्र — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको साढे तीन महिना बितिसक्दा पनि निर्वाचन आयोगले बदर मत सार्वजनिक गरेको छैन । राष्ट्रपतिलाई फागुन २ मा बुझाइएको निर्वाचन परिणामको सम्पूर्ण प्रतिवेदनमा सबै विषय खुलाइए पनि बदर मतको प्रतिशत उल्लेख छैन । अपेक्षाविपरीत बदर मत बढी भएकै कारण आयोगले सार्वजनिक गर्न नचाहेको हो ।
आयोगले प्रत्यक्षतर्फ २ देखि ३ प्रतिशत र समानुपातिकतर्फ ५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरेको थियो । पदाधिकारीले पनि त्यहीअनुसार सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर अनुमानभन्दा दोब्बर मत बदर भएपछि आयोग चुप बसेको हो । आयोग स्रोतले ढिला गरी उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ १ करोड ५ लाख ९४ हजार ४४ मत खसेकामा ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको हो । यस्तै, समानुपातिकतर्फ ९ दशमलव ५३ प्रतिशत मत बदर भएको छ । समानुपातिकतर्फ १ करोड ५ लाख ५० हजार ५ सय २० मत खसेकामा १० लाख ४९ हजार २ सय ६५ मत बदर छ । कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८ दशमलव ६७ प्रतिशत मतदान भएको थियो ।

आयोग अधिकारी भने बदर मतका विषयमा अझै तथ्यांक तयार भइनसकेको प्रतिक्रिया दिएर पन्छिन्छन् । सचिव बेगेन्द्रराज शर्मा पौड्यालले तथ्यांक विश्लेषणको काम अझै भइरहेको बताउँदै बदर मतको यकिन प्रतिशत बताउन असमर्थता दर्शाए । ‘साथीहरू काममा जुटिरहनुभएको छ, निर्वाचनसँग सम्बन्धित ए टु जेड कुरा समेटेर प्रतिवेदन प्रकाशन गर्ने तयारीमा छौं,’ उनले भने, ‘बदर मतको विषय पनि प्रतिवेदनमा समेटिनेछ ।’ आयोग प्रवक्ता सहसचिव नवराज ढकालले पनि बदर मतको यकिन जानकारी आफ्नो टेबलमा प्राप्त भइनसकेको र एकैचोटि प्रतिवेदनमै समेटेर निकाल्ने तयारी भइरहेको बताए । ‘स्थानीय तहमा सिंगो मतपत्रको बदर प्रतिशत ३ दशमलव १८ थियो, प्रतिनिधिसभामा पनि त्यही हाराहारी हुने अनुमान छ,’ उनले भने ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ४ दशमलव २६ प्रतिशत मत बदर भएको छ । समानुपातिकतर्फ यो संख्या निकै बढी छ । आयोग स्रोतका अनुसार प्रदेशसभाको समानुपातिकमा १४ दशमलव ४७ प्रतिशत मत बदरभएको छ । यस वर्ष भएकै सबै निर्वाचनमध्ये उक्त बदर प्रतिशत सबैभन्दा उच्च हो ।

जबकि सर्वोच्च अदालतको आदेशसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग–अलग छापिएपछि अत्यन्तै सहज र छरितो भएको थियो । सानो मतपत्रमा थोरै चिह्न छापिएकाले ती मतदातामैत्री देखिए पनि बदर प्रतिशत भने उच्च देखिएको छ । समानुपातिकतर्फ एउटै पानामा तल र माथि गरेर प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र राखिएको थियो । बन्दसूची नबुझाएका दलको चिह्नसमेत छापिएकाले मतपत्र झन् ठूलो र झुक्किने खालको बन्न पुगेको थियो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का अध्यक्ष एवं पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठका अनुसार ५ वा १० प्रतिशतसम्म मत बदर हुनु भनेको मतदाता शिक्षा प्रभावकारी नहुनु हो । ‘आयोगले औपचारिक रूपमा बदर मत प्रतिशत सार्वजनिक गरेको मेरो जानकारीमाछैन, त्यो गरिसक्नुपथ्र्यो,’ उनले भने, ‘२ देखि ३ प्रतिशतभित्र बदर भए ठीकै हो तर सुनिएअनुसार भएको रहेछ भने त्यो बढी नै हो ।’ यसअघिका दुईवटा संविधानसभा निर्वाचनमा बदर मत ५ प्रतिशत हाराहारीमै थियो । बर्सेनि साक्षरता प्रतिशत बढदै गएको र निर्वाचन पद्धति सुधारिँदै आएको दाबी गरिए पनि बदर मत घटाउन सकिएको छैन ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा समेत ५ दशमलव १५ र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ४ दशमलव ९६ प्रतिशत मत बदर भएको थियो । तर यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा १२ दशमलव ५ प्रतिशत मत बदर भएको छ । आयोगले सिंगो मतपत्र बदर नभएको भन्दै उक्त प्रतिशतलाई पनि अहिलेसम्म बाहिर ल्याएको छैन । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ प्रतिशतभन्दा बढी मत बदर भएका जिल्लाको संख्या ४० छ । तीमध्ये दुई दर्जनजतिमा बदर मत प्रतिशत ६ भन्दा बढी देखिएको छ । सबैभन्दा बढी क्रमश: बैतडीमा ९ दशमलव २६, सप्तरीमा ८ दशमलव ८८, भोजपुरमा ८ दशमलव ३०, रोल्पामा ७ दशमलव ६०, सिन्धुपाल्चोकमा ७ दशमलव ३७, पाँचथरमा ७ दशमलव ३५, महोत्तरी, प्यूठान र सल्यानमा ७ दशमलव ११ प्रतिशत मत बदर भएका छन् ।

निर्वाचन क्षेत्रका हिसाबले सबैभन्दा बढी रूपन्देही ४ मा ९ दशमलव ९७, सप्तरी २ मा ९ दशमलव ८९ र सर्लाही ४ मा ९ दशमलव ३६ प्रतिशत मत बदर देखिएको छ ।
नवलपरासी र बर्दियाबाहेक तराईका सबै जिल्लामा बदर मत प्रतिशत ५ भन्दा माथि छ । सबैभन्दा कम बदर मत मनाङमा भएको छ । त्यहाँ ० दशमलव ३६ प्रतिशत मत मात्रै बदर भएको छ । कुल ५ हजार ८ सय ८१ मतदाता रहेको उक्त जिल्लामा ४ हजार ३ सय ३७ जनाले मतदान गरेका थिए । त्यसमध्ये १६ मत बदर भएको हो । अर्को हिमाली जिल्ला मुस्ताङमा बदर मतको प्रतिशत ० दशमलव ७० छ । यी दुई जिल्लाबाहेक सबैतिर बदर मतको प्रतिशत २ भन्दा माथिको अंकमा छ । भक्तपुरमा २ दशमलव २३, काठमाडौंमा २ दशमलव ९२, कास्कीमा २ दशमलव ८८, चितवनमा २ दशमलव ९९ र ललितपुरमा ३ दशमलव ३७ प्रतिशत मत बदर भएको छ । बदर मत प्रतिशत बढी भएको भन्दै युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले मतको वैधता अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार गर्न आफ्नो प्रतिवेदनमा सिफारिस गरेको छ । कन्तिपुर दैनिकबाट


  •  
  •  
  •