काठमाडौ, १० माघ(ओएनएस) : देशको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरुको सम्झनामा आजदेखी शहिद सप्ताह सुरू गरिएको छ । हरेक वर्षझै यस वर्षपनि माघ १० देखी १६ सम्मलाई शहिद सप्ताहको रूपमा मनाउने क्रममा आज शहिद शुक्रराज शास्त्रीको सम्झनामा ऋद्धाञ्जली सभा गरिएको छ ।
शहिद शुक्रराजलाई मृत्युदण्ड दिइएको स्थान काठमाडौको पचली टेकुमा आयोजित ऋद्धाञ्जली सभामा महानगरपालिकाका कर्मचारी, स्थानीयवासी, राजनीतिज्ञलगायतले सहिद शास्त्रीको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका थिए ।
विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरी जनताको अधिकारका लागि सक्रिय रहेको अभियोगमा विसं १९९७ माघ १० गते शास्त्रीलाई तत्कालीन जहानिया राणा शासकले सोही स्थानमा मृत्युदण्ड दिएका थिए ।
उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठलगायतले शास्त्रीको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए । उक्त कार्यक्रममा श्रेष्ठले मुलुकमा प्रजातान्त्रिक व्यवस्था कायम गर्नका लागि शास्त्रीले गरेको बलिदानले अहिले जनता स्वतन्त्र रहेको भन्दै सहिदको सपनालाई साकार पार्न उहाँहरुले देखाएको आदर्शलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।