जेल भित्रै कैदीबीच विवाह

141
  •  
  •  
  •  

काठमाडौं २२ माघ ।
अघिपछि सुरक्षा र रासनपानीको लागि चिन्ता हुने रामेछाप कारागारमा बिहीबार बेग्लै धपेडी थियो । यसअघि कहिल्यै नभएको एउटा भव्य विवाह कार्यक्रम कारागारकै पर्खालभित्र हुँदै थियो । त्यो पनि सजाय भोगिरहेका महिला र पुरुष कैदीका बीचमा ।

कर्तव्य ज्यान अपराधमा सजाय भोगिरहेका रामेछापको गुन्सीका माओवादी पूर्व लडाकु दिनेश चौलागाई बेहुला र लागू औषधको अपराधमा जेल परेकी पर्साकी प्रमिला चौधरी बेहुली । कारागारको पूर्वी कुनामा बेहुली चिसोमा एकाविहानै नुहाउँदै थिईन । वेहुलाको हस्याङफस्याङमा पनि उत्तिकै व्यग्रता थियो ।

२२ जनाको समूहमा वसेकी चौधरी र २ सय ३२ जनाले घेरीएका चौलागाईलाई विवाह वन्धनमा बाँध्नका लागि सरसामान र मण्डप वनाउन बाँकी सवै कैदीवन्दी सवेरै देखि कारागारको पर्खाल भित्र सक्रिय थिए । सुरक्षाकर्मी र चौकीदारको सहयोगमा उनिहरुलाइ विवाह मण्डपमा ल्याउनासाथ दुवैले एकअर्कालाई मज्जाले नियाले ।

दशैं र तिहारमा महिला र पुरुष कैदीबन्दीको कारागार प्रशासनले आयोजना गर्ने टीका समारोहमा भेट हुन्छ । ‘त्यहि बेला हामीमा प्रेमले जग हाल्यो’ बेहुला चौलागाईले भने । एकले अर्कोलाई नदेख्ने कारागारको भित्ता भित्र दुवैले एकअर्कालाई चाहिरहेका थिए । चौकीदार खड्गवहादुर नेपालीले दुईजना विचमा विवाहको कुरा चलिरहेको चाल पाएपछि उक्त सम्बन्धले मुर्तरुप लिन पाएको हो । ‘जेलबाट निस्केपछिका लागि साहारा पाएको छु’ वेहुली चौधरीले भनिन् । बाहिर निस्कदा कसरी घरजम होला भन्ने थियो अव चिन्ता भएन उनले भनिन् ।

‘मैले उनीहरु एक अर्कालाई चाहन्छन् भन्ने कुरा थाहा पाए’ चौकीदार नेपालीले भने – ‘त्यसपछि दुवैलाई सोध्दा हो रहेछ । नेपालीले भने – ‘कारागार प्रशासनमा उक्त कुराको जानकारी गराएपछि विवाह गर्न मिल्ने कुराको जानकारी पाईयो र यो सम्भव भयोे ।’

जेलर उद्धवप्रसाद बरालले माथिल्लो निकायमा सोध्दा विवाह गर्दा हुने जानकारी आएपछि उनिहरुको विवाहको साईत जुराईएको थियो । कारागार भित्रको बिवाह भएपनि त्याँहा जेल बाहिर हुने बिबाहको भन्दा कुनै कुरामा कमी थिएन । वेहुला र वेहुली विवाहकै पोसाकमा सजिएका थिए । केराको घरी सहित सजाईएको जग्ये थियो त्यसमा चाहिने सवै सर्दम थिए अनि पुरोहितबाट मन्त्रोचरण र क्यासेटबाटै भएपनि पन्जेबाजा घन्किएको थियो । कारागारका कैदीवन्दी, सुरक्षाकर्मी, जेलप्रशासनका कर्मचारी र बजारका केही युवाहरु बिबाह समारोहलाई भव्य वनाउनका लागि जन्तीको रुपमा थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •