भीमेश्वरका ५ वडाको जिआइएस विधिबाट श्रोत तथा जोखिम नक्सा तयार

315
  •  
  •  
  •  

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाका ५ वटा वडाको भौगोलिक सूचना प्रणाली (जिआइएस) विधिबाट श्रोत तथा जोखिम नक्सा निर्माण भएको छ ।

वडाभित्र भएका स्रोत तथा जोखिमका क्षेत्रहरुको अवस्थिति, अवस्था र तथ्याङ्कलाई समेटेर डिजिटल प्रविधिको प्रयोग गरि नक्सा बनाइएको हो । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा नगरपालिकासँगको समन्वयमा वडा नम्बर १, २, ४, ५ र ७ को जिआइएस नक्सा निर्माण गरेको मेयर भरत बहादुर के.सी.ले जानकारी दिए ।

‘जिआइएस नक्साले विकास योजना विपद जोखिम न्यूनीकरणलाई मुलप्रवाहीकरण गर्न र विपदका पूर्वतयारी, प्रतिकार्य तथा पुननिर्माण लगायतका काममा, राजश्व संकलन, अपराध नियन्त्रण, सवारी व्यवस्थापन, जोखिममा आधारित भूउपयोग योजना, नगरपालिकामा भैरहेका तथा आगामी दिनका लागि बनाउने योजना, कृयाकलापहरुको व्यवस्थित कार्यान्वयन तथा नियन्त्रणका लागि मद्धत गर्छ’ मेयर के.सी.ले भने ।

‘जिआइएस विधिबाट निर्माण भएको नक्सा यस भीमेश्वर नगरपालिकालाई विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न एउटा कोशेढुङ्गा सावित भएको छ । विपद जोखिम व्यवस्थापनका लागि यो नक्सा अत्यन्त उपयोगी हुने हामीले विश्वास लिएका छौं’ के.सी.ले भने, ‘सिडिएफ नेपाल र युएनडिपीले बनाएको ५ वटा वडाको नक्सा हामीले पाइसकेका छौं । वडा नम्बर ३ र ६ को हुराडेक नेपाल र युएनडिपीले उपलब्ध गराउने भएका छन् । बाँकी दुई वटा वडा ८ र ९ को नक्सा तयारीका लागि हामीले युएनडिपी, तयार नेपाल, आरआरएन लगायतका संस्थाहरुसँग समन्वय गरिरहेका छौं । ९ वटै वडाको नक्सा भएपछि मात्रै हामीलाई योजना निर्माण तथा कार्यान्वयन गर्न सहज हुन्छ ।’

विपद पूर्वतयारी, प्रतिकार्य तथा पुननिर्माणका कामहरु यहि नक्सामा भएका विवरणका आधारमा गर्ने, विकास निर्माणका योजना यीनै तथ्याङ्कलाई आधार मानेर बनाउने, जोखिमयुक्त क्षेत्रमा जोखिम कम गर्ने खालका क्रियाकलापको योजना निर्माण तथा कार्यान्वयन गर्ने योजना तथा प्राविधिक शाखा प्रमुख एवं विपद व्यवस्थापन सम्पर्क व्यक्ति इन्जिनियर सुरेश राउतले जानकारी दिए ।

‘नगरपालिकाको पाश्र्वचित्रमा पनि हाम्रा स्रोतहरु के छन् र कहाँ छन् भन्ने कुराको तथ्याङ्क छ । हामीले अहिलेको वडा नम्बर १, ८ र ९ बाहेकका वडामा घरहरु कहाँ कहाँ छन् भनेर जिआइएस बिन्दु समेत संकलन गरिसकेका छौं । यो जिआइएस नक्साले ती स्रोतहरु अहिले कस्तो अवस्थामा छन् भन्ने सम्मको तथ्याङ्क दिएको छ ।’ सम्पर्क व्यक्ति सुरेश राउतले भने, ‘हामीसँग कहाँ कहाँ विद्यालय छन् भन्ने तथ्याङ्क पहिला पनि थियो भने अहिले ती विद्यालयमा भौतिक संरचना भूकम्प प्रतिरोधी छन् की छैनन्, आगो निभाउने उपकरण छ की छैन, सुरक्षित बहिर्गमन मार्ग र बहिर्गमन नक्सा छ की छैन, अपाङ्गमैत्री शौचालय छ की छैन लगायतका प्रश्नहरुको उत्तर समेटेको छ ।’

यसएनडिपीको आर्थिक सहयोगमा सञ्चालित बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना अन्तर्गत ५ वटा वडाको जिआइएस नक्सा तयार भएर वडा कार्यालयमा हस्तान्तरण गरिएको सिडिएफ नेपालका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताए । ‘नक्सा प्रा.लि. काठमाण्डौंसँगको प्राविधिक साझेदारीमा वडा नम्बर १, २, ४, ५ र ७ को स्रोत तथा जोखिम सहितको जिआइएस नक्सा तयार भएर नक्सा किताव तथा नक्सा बोर्ड वडा कार्यालयलाई हस्तान्तरण भएको छ । विपद जोखिमको दृष्टिकोणबाट तयार गरिएको दोलखाको लागि यो पहिलो काम हुनुपर्छ’ उनले भने,‘आगो निभाउने उपकरण भए नभएको, सुरक्षित स्थलको पहिचान र बहिर्गमन नक्सा भए नभएको, भूकम्प प्रतिरोधी संरचना भए नभएको, बीमा गरिएको नगरिएको, खुल्ला स्थान भए नभएको लगायतका विवरण समेत नक्सा कितावमा समावेश छन् । आशा छ नगरपालिका तथा वडा कार्यालयले यीनै तथ्य र विवरणका आधारमा आगामी दिनमा योजना निर्माण तथा कार्यान्वयन गर्नेछन् ।’

सिडिएफ नेपालले नक्साको डिजिटल कपी नैं नगरपालिकालाई उपलब्ध गराउने र नगरपालिकाले आगामी दिनमा नक्सामा भएका विवरणहरु अद्याबधिक गर्दै जाने जनाएको छ ।

स्वास्थ्य संस्था, विद्यालय, सरकारी कार्यालयहरु, संघ संस्थाहरु, सहकारी तथा वित्तीय संस्था, पर्यटकीय स्थलहरु, उद्योग धन्दा, कलकारखाना, उर्जाका स्रोत लगायतका स्रोतहरु कति छन्, कहाँ छन् र कस्तो अवस्थामा छन् र विपदको जोखिम भएका क्षेत्रहरु कहाँ छन् र कस्तो अवस्थामा छन् भनेर पत्ता लगाउन वैज्ञानिक तरिकाले बनाइएको नक्सालाई जिआइएस नक्सा भनिन्छ ।

कुनै ठाउँमा नयाँ विद्यालय माग भयो भने आसपासका कतिवटा विद्यालय छन्, कति क्षमताका छन् र त्यस ठाउँमा विद्यालय आवश्यक छ की छैन भन्ने कुरा नक्सा हेरेरै थाहा हुन्छ । विपद जोखिम न्यूनीकरणको दृष्टिकोणबाट हेर्ने हो भने पनि विद्यालय बनाउने ठाउँ सुरक्षित हो की होइन, त्यहाँ विद्यालय बनाउँदा कस्तो जोखिम आइपर्छ र त्यसको न्यूनीकरणका लागि के गर्नुपर्छ भन्ने कुरा पहिला नैं थाहा पाइन्छ ।


  •  
  •  
  •