काठमाडौं, ५ जेठ (ओएनएस) : १० वर्षसम्म सँगै ‘जनयुद्ध’ लडे पनि शान्तिप्रक्रियामा आएको केही समयपछि फुटेका दुई माओवादी बिच पार्टी एकताको पहल सुरु भएको छ ।
विराटनगर राष्ट्रिय सम्मेलन अगाडि पटकपटक अनौपचारिक छलफल गरेका दुई पार्टीका नेताहरुले चाँडै औपचारिक बैठक बसेरै एकताको पहल अगाडि बढाउने तयारी गरेका छन् ।
नेकपा–माओवादीका सचिव देव गुरुङले छिट्टै दुई पार्टी बिच औपचारिक बैठक बस्ने बताए । ‘एकताको लागि विभिन्न चरणमा अनौपचारिक छलफलहरु भइरहेका छन्’ गुरुङले भने, ‘अब औपचारिक रुपमै प्रक्रिया अगाडि बढ्छ । आवश्यकता अनुसार मिति तय गर्छौँ ।’
स्रोतकाअनुसार विराटनगर राष्ट्रिय सम्मेलन अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग नेकपा–माओवादीका नेताहरुले दस्तावेज हेरेर कसरी अगाडि बढ्ने भन्ने निक्र्यौल गर्ने बताएका थिए । ‘विराटनगरमा प्रस्तुत गरिएको दस्तावेज अल्लि बढी क्रान्तिकारी छ’ गुरुङले भने, ‘सोही कारण एकताको लागि वातावरण बन्दै गएको छ ।’

पार्टी विभाजनपछि एकअर्कालाई कठोर कटाक्ष गर्दै आएका दुई माओवादीका नेताहरु हाल एउटै मञ्चमा देखिन थालेका छन् । एउटा मञ्चमा उभिएर प्रचण्डले ‘किरणलाई नेतृत्व दिन तयार’ रहेको बताएपछि दुई पार्टी बिचको दुरी कम हुँदै गएको दुवै पार्टीका नेताहरु बताउँछन् । एकता हुने सम्भावना कति छ भन्ने प्रश्नमा नेता गुरुङले भने, ‘सम्भावना छ, कम्यूनिष्टहरु एक हुनु अहिलेको आवश्यकता पनि हो तर पार्टी एकीकरण भावनाले हुने कुरा होइन, त्यहाँ सैद्धान्तिक र ‘लाइन’को कुरा प्रधान हुन्छ ।’
एमाओवादीका नेता लोकेन्द्र विष्टले पनि एकीकरणको पहल सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । उनले केन्द्रीय समिति बैठकबाटै एकताको लागि आह्वान गर्ने र त्यसको लागि सक्रिय रुपमा प्रयास थाल्ने निर्णय हुन सक्ने बताए । ‘अनौपचारिक छलफल भइरहेको छ’ उनले भने, ‘केन्द्रीय समिति बैठकले एकताको सम्बन्धमा केही नयाँ कुरा बाहिर ल्याउन सक्छ ।’
मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीले नवसंसोधनवादमा फँसेको भन्दै एमाओवादीको चर्को आलोचना गर्ने गरेको थियो । पार्टी एकताको लागि गत जेठमा प्रचण्डले ७ बुँदै प्रस्ताव गर्दा नेकपा–माओवादीले एकताको लागि ६ बुँदे पूर्वसर्त राखेको थियो ।
लगातार विद्रोहको प्रसङ्ग उठाउने गरेका तथा दोस्रो संविधानसभाको चुनावताका भूमिगत भएका माओवादी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि विराटनगर राष्ट्रिय सम्मेलनमा ‘संविधानसभाबाट संविधान बन्ने सम्भावना कम भएकोले समाजवादी क्रान्तिका लागि विद्रोहात्मक तयारी गर्ने’ भावसहितको दस्तावेज प्रस्तुत गरेकोले एकताको लागि वातावरण बन्दै गएको बताए । तर दुइवटै पार्टीभित्र एकीकरणको सम्भावना पुरै इन्कार गर्नेहरु पनि छन् ।
स्रोतकाअनुसार दुवै माओवादीका अध्यक्षले पार्टी एकीकरणको पहल सुरु भइसकेको पार्टीभित्र जानकारी गराइसकेका छन् । वैद्य माओवादीले एकताको लागि विद्रोहको कार्यदिशा छाड्ने हेटौँडा महाधिवेशनको निर्णयलाई सच्याउनुपर्ने माग राख्दै आएको छ । हालै सम्पन्न विराटनगर सम्मेलनबाट प्रचण्डले त्यसको छनक दिएपछि एकताको लागि प्रयासहरु तीव्र भएका हुन् ।